
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा हेभिवेट भिडन्त हुने ठाउँहरूमा नेपाल प्रहरी विशेष तयारी गरेको छ ।
२१ फागुनमा हुने निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई प्राथमिकतामा राख्दै त्यस्ता ठाउँहरूमा उच्च सतर्कता अपनाउन सुरु गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार सुरक्षा थ्रेट हुनसक्ने ठाउँहरूको पहिचान गरी उच्च सतर्कता अपनाइएको छ ।
‘हेभिवेट उम्मेदवार प्रतिस्पर्धा हुने ठाउँहरूमा स्वभाविक रुपमा सुरक्षा चुनौती बढ्ने नै भयो । सोही अनुसार हामीले विशेष कमाण्ड बनाएर खटाउने तयारी गरेका छौं,’ प्रवक्ता काफ्लेले भन्नुभयो ।
त्यसका लागि प्रहरीले आन्तरिक रुपमा गृहकार्य समेत सुरु गरेको छ । त्यस्ता ठाउँहरू तथा जिल्लाको पहिचान गरेर एसएसपीको कमाण्ड खटाउने तयारी गरिएको छ ।
अहिले सबैभन्दा चुनौतीपूर्ण जिल्लाको रुपमा झापालाई लिइएको छ । झापा–५ बाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा पूर्वमेयर वालेन्द्र शाह (बालेन) आमने–सामने हुँदैछन् ।
एमाले र रास्वपा दुवैले यी दुई उम्मेदवारलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छन् । झापाबाटै निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा रानामगर पनि आमने–सामने हुँदैछन् ।
झापामा अहिले एसपी बसुन्धरा खड्काले कमाण्ड गरेकी छन् । झापा जिल्ला हेर्ने गरी एसएसपीको अर्को कमाण्ड खटाउने तयारी गरिएको छ । अहिले नै कसलाई पठाउने भन्ने निर्णय भने हुन बाँकी नै रहेको प्रहरीले बताएको छ । अहिले पनि नियमित भन्दा करिब १०० बढी प्रहरी झापामा पठाइएको छ ।
त्यसैगरी सर्लाही जिल्लामा पनि एसएसपी खटाउने तयारी गरिएको छ । सर्लाही–४ बाट नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका रुपमा कांग्रेसले उम्मेदवार बनाएका गगन थापा उम्मेदवार बनेका छन् ।
उनीसँगै रास्वपाबाट अमरेश कुमार सिंह प्रतिस्पर्धामा छन् । यो जिल्लालाई पनि चुनौतीपूर्ण जिल्लाको रुपमा लिइएको छ । सर्लाहीबाटै नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वगृहमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठ ९प्रकाश० पनि उम्मेदवार बनेका छन् ।
चितवनलाई पनि सुरक्षा संवेदनशीलतामा राखिएको छ । चितवन–२ बाट रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने उम्मेदवार बनेका छन् ।
चितवन–३ मा नेपाली कम्युनिष्ट पार्टीकी नेतृ तथा भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेणु दाहाल र रास्वापा नेतृ सोविता गौतम आमने–सामने भएका छन् ।
त्यसैगरी दोलखा, रुपन्देही, मोरङ जस्ता जिल्लाहरूमा पनि विशेष कमाण्डको रुपमा थप प्रहरीसहित सिनियर अफिसरको कमाण्ड पठाउने तयारी गरिएको छ ।
निर्वाचन लक्षित ७५ हजारभन्दा बढी प्रहरी परिचालन हुँदैछन् । उपत्यकामा रहेका १२ हजार भन्दा बढी प्रहरी जिल्लामा खटाउने तयारी प्रहरी प्रधान कार्यालयको छ ।
सुरक्षा थ्रेट हुनसक्ने उम्मेदवारको विवरण संकलन, सूचना संकलन, दुई पक्षबीच हुनसक्ने झडपको आकलन, हुनसक्ने सम्भावित घटनाहरूबारे अहिले विश्लेषण भइरहेको छ ।
सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभाग (राअवि)का कर्मचारीदेखि प्रहरीसम्मले काम गरेका छन् । डग स्निफिङदेखि, सरप्राइज चेकिङ, संयुक्त गस्ती समेत गर्न सुरु गरिएको छ ।
इता, प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा एक थोपा पनि रगत नबगोस् भन्दै सुरक्षा निकायलाई निर्देशन दिँदै आएकी छिन् । आज (शुक्रबार) मात्रै गृहमन्त्रालयले स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न वडातहसम्मकै समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने अवधारणा सारेको छ ।
मन्त्रालयले वडातहमा क्रियाशील रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिहरूको सहभागीता अभिवृद्धि गरी निजहरूलाई निर्वाचनका सबै प्रक्रियामा सहभागी गराई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अवधारणा तयार गरेको छ ।
‘वडातहमा रहेका राजनीतिक व्यक्ति, पदाधिकारी एवं प्रबुद्ध व्यक्तिहरूलाई निर्वाचन व्यवस्थापन लगायतका कार्यमा समावेश गराई निर्वाचनमा निजहरूको अपनत्व अभिवृद्धि गरी गराई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अभिप्रायले अवधारणा सार्वजनिक गरिएको हो,’ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताउँछन् ।


