
झापा । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कका दुई प्रमुख कम्पनी—स्पेसएक्स र एक्सएआई गाभ्नेबारे छलफल भइरहेको छ । समाचार संस्था रोयटर्सकाअनुसार यी दुई कम्पनी गाभिने प्रक्रिया सम्भवतः यही वर्षभित्र पूरा हुन सक्छ ।
यदि यो सम्झौता कार्यान्वयनमा आयो भने एलन मस्कका रकेट प्रविधि, स्टारलिङ्क, उपग्रह प्रणाली, सामाजिक सञ्जाल एक्स, ग्रोक एआई तथा च्याटबटलगायत सबै प्रविधि एउटै कम्पनी संरचनाअन्तर्गत समेटिनेछन् ।
यस कदमले कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा मेटा र ओपनएआई जस्ता कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न मस्कलाई थप बल पुग्ने विश्लेषकहरूको भनाइ छ । गाभ्ने प्रक्रियालाई सहज बनाउन दुई नयाँ कम्पनी जनवरी २१ मा दर्ता भएका खबरमा उल्लेख छ । तीमध्ये एक कम्पनीमा स्पेसएक्स र यसको प्रमुख वित्तीय अधिकृत (सीएफओ) ब्रेट जोनसन व्यवस्थापक सदस्यका रूपमा रहेका छन् ।
प्रस्तावित सम्झौताअनुसार एक्सएआईका शेयरहरू स्पेसएक्सका शेयरसँग साटासाट गरिनेछन् । तर यो सम्झौता अझै अन्तिम चरणमा पुगिसकेको छैन ।
अहिले स्पेसएक्स संसारकै सबैभन्दा मूल्यवान् निजी कम्पनी बनेको छ । यसको आन्तरिक शेयर बिक्रीका आधारमा यसको मूल्याङ्कन झन्डै ८०० अर्ब अमेरिकी डलर पुगेको छ ।
यस्तै एक्सएआईको मूल्याङ्कन गएको नोभेम्बरमा झन्डै २३० अर्ब डलर आँकलन भएको थियो । विश्लेषकहरूका अनुसार स्पेस–एआईको प्राथमिक शेयर निष्कासन (आईपीओ) पछि कम्पनीको मूल्य एक ट्रिलियन डलरभन्दा माथि पुग्न सक्ने अनुमान छ ।


