
झापा । म्यान्मारबाट ठगी धन्दा सञ्चालन गर्ने एउटा कुख्यात गिरोहका ११ जनालाई चीनले मृत्युदण्ड दिएको छ ।
चीनको जेजिआङ प्रान्तमा रहेको अदालतले हत्या गरेको, बन्धक बनाएको, ठगी गरेको र जुवाघर चलाएको अभियोगमा उनीहरूलाई गएको सेप्टेम्बरमा दोषी ठहर गर्दै सजाय सुनाएको थियो । सेप्टेम्बरमा दोषी ठहर भएका अभियुक्तहरूले गरेको पुनरावेदन अदालतले अस्वीकार गरेपछि मृत्युदण्ड दिइएको हो ।
अदालतका अनुसार उनीहरूले गरेका अपराधबाट १४ जना चिनियाँ नागरिकको ज्यानसमेत गएको थियो । मृत्युदण्ड पाएकाहरू सबै मिङ परिवारका सदस्य हुन् ।
चीनको सीमा नजिकै रहेको म्यान्मारको विपन्न बस्ती लाउकाइङमा मिङ परिवारले जुवाघर तथा वेश्यालयहरू खोल्नुका साथै त्यहाँबाट साइबर ठगीको धन्दा चलाएको थियो । चीनले दबाव दिएपछि म्यानमारको सेनाले सन् २०२३ मा मिङ परिवारका सदस्यसहित कैयौँलाई पक्राउ गरी चीनलाई बुझाएको थियो ।
अदालतका अनुसार मिङ परिवारले सन् २०१५ देखि २०२३ सम्म ठगी धन्दा र जुवाघरबाट झन्डै १ खर्ब ४ अर्ब अमेरिकी डलर कमाइ गरेको थियो । म्यान्मारबाट सञ्चालित स्क्याम सेन्टरहरूमा चीनबाट तस्करी गरेर लगेका हजारौँ कामदारलाई ठगीका कामका लगाइन्थ्यो ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सन् २०२३ यता म्यान्मारमा साइबर ठगीमा संलग्न ५७ हजारभन्दा धेरै चिनियाँ नागरिक पक्राउ परेका छन् ।


