
काठमाडौं । गएको पुस महिनामा गाडी दुर्घटनामा परेर देशभर २३८ जनाको ज्यान गएको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुसमा ४ हजार ५४९ वटा गाडी दुर्घटना हुँदा २३८ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा १९२ जना पुरुष, ३१ जना महिला, १५ जना बालबालिका छन् ।
पुसमा गाडी दुर्घटनामा ६६३ जना गम्भीर घाइते भएका छन् । यस्तै ३ हजार ३५३ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।
पुस महिनामा सबैभन्दा धेरै २ हजार ३८२ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस गरी ७३६, बस १८०, टेम्पो २४७ वटा दुर्घटनामा परेका छन् । २८८ वटा ट्रक, ट्याङ्कर, टिपर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ ।
सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका छन् ।
गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, अनावश्यक ओभरटेक, जाँड–रक्सी खाएर चलाउनु, चालकको असक्षमता, यात्रुले हतारमा बाटो पार गर्दा लगायत ट्राफिक नियम उल्लङ्घन रहेका प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले पुस महिनामा ८८ हजार ९६९ जना चालकलाई कारबाही गरेर ८ करोड ४ लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।



