२०८२ माघ १४ बुधवार , ०५:३६:४० बजे

Sajhamanch
'

हिमाली क्षेत्रमा हिमपात र विभिन्न ठाउँमा हिउँदे वर्षा

बुधवार, माघ १४, २०८२

काठमाडौं । देशभर बदली भएर हिमाली क्षेत्रमा हिमपात र विशेषगरी पश्चिम नेपालमा हिउँदे वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हुम्ला, बैतडी, मुस्ताङ र बाजुरामा बाक्लो हिमपात भएको छ । हुम्लामा दुई फिटसम्म हिउँ परेको विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा सुर्खेतमा ४२ दशमलव २ मिलिमिटर, कैलालीमा ३० मिलिमिटर र डडेल्धुरामा २९ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ । कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका धेरैजसाे भूभागमा मध्यम वर्षा भएको छ ।

हिमपात र वर्षाले जनजीवन प्रभावित भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जयपृथ्वी राजमार्ग, मध्यपहाडी लोकमार्गसहित विभिन्न सडकमा अवरोध भएको छ । राजविराज, भैरहवा र सुर्खेतसहित केही विमानस्थलमा उडान रद्द भएका छन् ।

यात्रामा निस्कनुअघि सम्बन्धित ठाउँको मौसमी अवस्थाबारे जानकारी लिन प्राधिकरणले आग्रह गरेको छ ।

हिमपातले जनजीवन प्रभावित भए पनि गहुँ र दलहनजस्ता हिउँदे बालीलाई भने फाइदा पुग्ने कृषि विज्ञहरूले बताएका छन् । चिसो बढ्दा विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकले विशेष सावधानी अपनाउनुपर्ने उनीहरूको सुझाव छ ।

मौसमविद् विनु महर्जनका अनुसार भोलिदेखि मौसममा सुधार आउन सक्ने छ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मध्यम वर्षाको पूर्वानुमान छ भने राति उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सम्बन्धित खबर