२०८२ माघ १४ बुधवार , ०३:२५:४६ बजे

Sajhamanch
'

निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’

बुधवार, माघ १४, २०८२

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले आन्तरिक रूपमा सुरक्षा योजना बनाइरहेको छ ।

निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसके पनि प्रचारलगायत कामको अहिले औपचारिक अनुमति दिएको छैन । तर, राजनीतिक दल र उम्मेदवार मतादाताका माझमा पुग्न थालिसकेका कारण प्रहरीले सुरक्षा चुनौतीको विश्लेषण गर्दै थप टोली परिचालन गर्न थालिसकेको छ ।

देशभरिको सुरक्षा व्यवस्थापन गर्ने केन्द्रीय प्रहरीको संयन्त्रले प्रदेश र जिल्लास्थित प्रहरी नेतृत्वसँग परामर्श गर्दै आवश्यक कार्य गरिरहेको केन्द्रीय प्रहरी स्रोतले जनाएको छ । सुरक्षा चुनौती र आन्तरिक योजनाका विषय सार्वजनिक गर्न नमिल्ने स्रोतको भनाइ छ ।

प्रारम्भिक सुरक्षा विश्लेषणअनुसार देशभरिका ६ जिल्लालाई प्रहरीले उच्च सुरक्षा चुनौतीयुक्त जिल्लाका रूपमा सूचीकृत गरेको छ । त्यसमध्ये झापा जिल्लालाई पहिलो नम्बरको सुरक्षा चुनौतीयुक्त जिल्ला (हाई अलर्ट) का रूपमा लिइएको छ ।

प्रहरी स्रोतका अनुसार झापामा नियमित रूपमा तैनाथ हुने प्रहरी जनशक्ति अपुग भएका कारण विभिन्न गण र गुल्मका टोली खटाइएको छ । जिल्ला प्रहरी कार्यालयको समन्वय र व्यवस्थापनमा ती टोली झापाका विभिन्न प्रहरी कार्यालयमा छरिएका छन् ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहसहितका उम्मेदवारीबीच चुनावी प्रतिस्पर्धा हुने झापा-५ लाई लक्षित गर्दै प्रहरीका थप टोली तैनाथ भएका हुन् । त्यहाँ पठाइएको थप टोलीले क्षेत्र नम्बर ५ लाई लक्षित (टार्गेट) गरेर आवश्यक काम गर्दैछ ।

यद्यपि, उक्त क्षेत्रका ‘हाइप्रोफाइल’ उम्मेदवारमध्ये ओली र साह दुवै जिल्लाबाहिर छन् ।

झापापछि उच्च सुरक्षा चुनौती रहेका जिल्ला सप्तरी, सर्लाही, चितवन, गोरखा र रुकुमपूर्व हुन् । प्रहरीले सामान्यतया उम्मेदवारहरूको हैसियतका आधारमा कुन जिल्ला कति चुनौतीयुक्त भन्ने कुराको निर्क्यौल गरेको उच्च स्रोत बताउँछ । झापापछिको उच्च सुरक्षा चुनौती रहेको दोस्रो जिल्ला रुकुम, तेस्रो गोरखा, चौथो चितवन, पाँचौ सर्लाही र छैठौँमा सप्तरी छ ।

दोस्रो सुरक्षा चुनौतीका रूपमा तोकिएको जिल्ला रुकुम पूर्वमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी प्रतिस्पर्धाका लागि गएका छन् । उनका विरुद्ध एमाले र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार मुख्य प्रतिस्पर्धी हुने कारण सबै उम्मेदवारका गतिविधिलाई प्रहरीले उच्च निगरानीमा राख्ने भएको छ । त्यहाँ पनि बुटवलस्थित प्रहरी तालिम केन्द्रसहित विभिन्न गण र गुल्मका थप टोली पुगिसकेका छन् ।

रुकुमपूर्वमा प्रचण्डका प्रतिस्पर्धीमध्ये क्रमशः एमालेका लीलामणि गौतम, प्रलोपाका सन्दीप पुन, नेपाली कांग्रेसकी कुसुमदेवी थापा र रास्वपाका लखनकुमार थापालाई प्रहरीले सम्भावित घटनासँग सम्बन्धित हुने आँकलन गरेको स्रोतले जनायो । एमाले मुख्य प्रतिस्पर्धी भएका कारण र प्रलोपाका उम्मेदवार आफैँ पूर्व लडाकु भएका कारण त्यस्तो अनुमान गरिएको हो ।

तेस्रो जिल्ला गोरखामा विभिन्न किसिमका फौजदारी अभियोग लागेका र जेन-जी आन्दोलनका अगुवासमेत उम्मेदवार रहेका कारण रुकुम पूर्वपछिको चुनौतीपूर्ण जिल्लाका रुपमा लिइएको हो । त्यहाँको क्षेत्र नं. १ मा जेन-जी आन्दोलनका अगुवा सुधन गुरुङ (रास्वपा), कांग्रेसका प्रेमकुमार खत्री र एमालेका आरसी लामिछानेबीचको प्रतिस्पर्धा हुने अनुमानसहित प्रहरीले सुधनमाथि हुने सम्भावित सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै थप टोली पठाइएको प्रहरीस्रोतको भनाइ छ ।

क्षेत्र नं. २ मा एमालेबाट ‘चक्रे मिलन’ का नामले चिनिने मिलन गुरुङ उम्मेदवार छन् । उनीसँग रास्वपाका कविन्द्र बुर्लाकोटी, नेपाली कांग्रेसका प्रकाशचन्द्र दबाडी, नेकपाका लेखनाथ न्यौपाने मुख्य प्रतिस्पर्धी छन् ।

उम्मेदवारी यही ‘भद्रगोल’ देखेर पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले दर्ता गरेको उम्मेदवारी पनि फिर्ता लिएका थिए । प्रहरीले उम्मेदवारहरूको स्थिति (विगतको पृष्ठभूमि) लाई ख्याल गर्दै पोखरास्थित प्रहरीका गण र गुल्मबाट थप टोली पठाउने भएको हो ।

चौथो जिल्लाका रुपमा रहेको चितवनमा रास्वपा सभापति रवि लामिछाने र नेकपाकी रेनु दाहालको उम्मेदवारीका कारण सुरक्षा चुनौती हुनसक्ने विश्लेषण प्रहरीले गरेको हो ।

पाँचौं जिल्लामा राखिएको सर्लाहीमा नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार छन् । सुरक्षा चुनौतीका दृष्टिले छैठौँ जिल्ला मानिएको सप्तरीमा जसपा अध्यक्ष उपेन्द्र यादव क्षेत्र नं. ३ र जनमत पार्टीका अध्यक्ष सिके (चन्द्रकान्त राउत) क्षेत्र नं. २ बाट उम्मेदवार छन् ।

दैनिक विश्लेषण, दैनिक योजना

केन्द्रीय प्रहरीका अनुसार प्रहरी प्रधान कार्यालयको टोलीले दैनिक रूपमा देशभरिको सुरक्षा विश्लेषण गर्ने गरेको र चुनौती भएका ठाउँमा तैनाथीको योजना पनि दैनिक रुपमा तयार पार्ने गरिएको छ । त्यसका लागि अपराध अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र विशेष ब्युरो सक्रिय छन् ।

२२ जिल्ला उच्च जोखिममा, सशस्त्रसँग सहकार्य

निर्वाचन सुरक्षाका दृष्टिले २२ वटा भारतीय सीमावर्ती जिल्लालाई प्रहरीले उच्च जोखिमयुक्त क्षेत्रका रुपमा विश्लेषण गरेको छ । ती जिल्लामा सीमा सुरक्षामा तैनाथ रहने सशस्त्र प्रहरी बलसँग सहकार्य गर्ने नीति प्रहरीले लिएको छ ।

२२ जिल्लामा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दार्चुला रहेका छन् । भारतसँगको खुला सीमा रहेका कारण ती जिल्लालाई जोखिमयुक्त मानिएको हो ।

दोलखा र स्याङ्जामा सतर्कता

अघिल्ला निर्वाचनमा मुठभेड र बुथ कब्जाजस्ता घटनाका कारण चर्चामा आएका दोलखा र स्याङ्जा जिल्लामा प्रहरीले सतर्कतासहित ड्युटी गर्न स्थानीय प्रहरी नेतृत्वलाई आदेश गरेको छ । विगतमा भएका घटनाका कारण र यसपटक त्यस्ता घटनाको सम्भावना विश्लेषण गर्दै ती जिल्लामा थप मद्दत पठाइने केन्द्रीय प्रहरीस्रोतले जनाएको छ ।

यसबाहेक मतपेटिका ओसारपसार, मतपत्र सुरक्षा, मतदानस्थल र मतगणना स्थलको सुरक्षाका निम्ति सम्बन्धित जिल्ला प्रहरी कार्यालयले सुरक्षा व्यवस्थापन गर्ने भएको छ ।

निर्वाचन आयोगमा डीएसपीको कमाण्ड

निर्वाचन सुरक्षामा डिजिटल प्लेटफर्महरूबाट हुने चुनौतीलाई दृष्टिगत गर्दै निर्वाचन आयोगले आयोग हाताभित्रै एक ‘कमाण्ड पोष्ट’ खडा गरेको छ । उक्त युनिटले १८ लाख ९०३ हजार ६८९ मतदाताको मतदान अधिकार सुरक्षित राख्न ई-मनिटरिङ गर्दैछ ।

विभिन्न सफ्टवेयरबाट विभिन्न डिजिटल प्लेटफर्मको निगरानी राख्ने, आचारसंहिता वा निर्वाचनको स्वच्छताविपरीतका विषय र सन्दर्भलाई नियन्त्रण गरिनेजस्ता काम उक्त युनिटले गर्ने भएको छ । त्यसका निम्ति नेपाल प्रहरीले सूचना प्रविधि निर्देशनालयबाट डीएसपी मनोज शाहलाई खटाएको छ ।

सम्बन्धित खबर