२०८२ माघ १४ बुधवार , ११:५९:०७ बजे

Sajhamanch
'

हुम्ला, जुम्ला, बैतडी, बागलुङलगायतका जिल्लामा बाक्लो हिमपात : जनजीवन प्रभावित

बुधवार, माघ १४, २०८२

काठमाडौं । पश्चिम क्षेत्रका हुम्ला, जुम्ला, बैतडी, बागलुङलगायत केही जिल्लामा बाक्लो हिमपात भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा हिजो बेलुकादेखि नै हिमपात भएको हो ।

त्यस्तै बैतडीका उच्च क्षेत्र सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको छ । ती क्षेत्रमा माघयता दोस्रो पटक राम्रै हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिने स्थानीय राजबहादुर टेरले बताउनुभयो ।

यस्तै बागलुङको ढोरपाटनसहित उच्च पहाडी क्षेत्रमा ठूलो हिमपात भएको छ । गएरातिदेखि बाक्लो हिउँ परेको हो । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्मे भएका छन् ।

ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमा पनि हिमपात भएको छ । तर चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित बनेको छ ।