२०८२ माघ १२ सोमवार , ०४:२८:०८ बजे

Sajhamanch
'

सुनको मूल्य इतिहासमै पहिलो पटक ५ हजार डलर नाघ्यो

सोमवार, माघ १२, २०८२

झापा । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य इतिहासमै पहिलो पटक ५ हजार अमेरिकी डलर नाघेको छ ।

विश्वभर आर्थिक र राजनीतिक अनिश्चितताको कारणले गर्दा लगानीकर्ताहरूले आफ्नौ पैसा राख्न सुरक्षित ठाउँहरू खोजिरहेका बेला आज सुनको मूल्य प्रतिऔंस ५ हजार १ सय डलरको कीर्तिमानी उच्चतम विन्दुमा पुगेको बीबीसीले जनाएको छ ।

सुनको भाउ सन् २०२५ मा एक वर्षमै ६४ प्रतिशतले बढेको थियो । यो सन् १९७९ पछिको सबैभन्दा ठूलो वार्षिक वृद्धि हो । ग्रीनल्यान्डलाई लिएर अमेरिका र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) बीच बढ्दो तनावले पनि सुनको मूल्य बढाउन भूमिका खेलिरहेको खबरमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले पनि बजारको चिन्ता बढाएको छ । गएको शनिवार ट्रम्पले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडामाथि १ सय प्रतिशत कर लगाउने धम्की दिनुभएको थियो ।

सुन र अन्य बहुमूल्य धातुहरूलाई ‘सुरक्षित’ लगानी मानिन्छ जसमा लगानीकर्ताहरूले अनिश्चितताको समयमा लगानी गर्छन् ।

यस्तै शुक्रवार चाँदीको मूल्य पनि इतिहासमा पहिलो पटक प्रतिऔंस १०० डलर नाघेको छ । गएको वर्ष चाँदीको मूल्य झन्डै १५० प्रतिशतले बढेको थियो ।

बढ्दो विश्वव्यापी तनावका कारण यस वर्ष सुनको मूल्य ६ हजार डलरसम्म पुग्नसक्ने विश्लेषकहरूको अनुमान छ ।

सम्बन्धित खबर