
काठमाडौं । नेपाली करातेकी स्टार खेलाडी एरिका गुरुङले अन्तर्राष्ट्रिय करातेमा इतिहास रचेकी छन् । टर्किएमा भइरहेको डब्लुकेएफ कराते वान प्रिमियर लिग–२०२६ मा एरिकाले ऐतिहासिक प्रदर्शन गर्दै उपाधि नजिक पुगेकी हुन् ।
महिला ६८ किलोमाथीको तौल समूहमा इंग्ल्याण्डकी राचेले वाल्टर्सलाई ४–१ ले पराजित गर्दै एरिका फाइनलमा पुग्न सफल भएकी हुन् । एरिकाले अब स्वर्ण पदकका लागि कजाकिस्तान सोफिया बेरुत्सेभासँग खेल्नेछिन् । फाइनल खेल नेपाली समयअनुसार आजै राति ८ बजेपछि हुनेछ । फाइनल खेल जिते एरिकाले थप ऐतिहासिक उपलब्धि प्राप्त गर्नेछिन् ।
एरिकाले गएको वर्ष मोरक्कोको रावातमा भएको कराते वान प्रिमियर लिगमा पहिलो सहभागितामै कांस्य पदक जित्दै इतिहास रचेकी थिइन् । ६८ किलोमाथि तौल समूहको इभेन्टमा एरिकाको प्रदर्शनलाई डब्लुकेएफले पनि उत्कृष्ट प्रदर्शन भएको उल्लेख गरेको छ ।
कजाखस्तानकी सोफिया एरिकाका लागि परिचित प्रतिस्पर्धी हुन् । त्यसैले यी दुई खेलाडीबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।


