२०८२ माघ ९ शुक्रवार , ०८:५३:२७ बजे

Sajhamanch
'

सानेपा छिर्दै गगन नेतृत्वको कांग्रेस केन्द्रीय समिति

शुक्रवार, माघ ९, २०८२

काठमाडौं । गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट चुनिएका सभापतिसहित केन्द्रीय नेतृत्वहरु आज केन्द्रीय कार्यालय सानेपा गएर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरु आज पहिलो पटक केन्द्रीय कार्यालय सानेपा पुग्ने तय भएको हो । उपसभापति पुष्पा भुसालका अनुसार सभापति थापासहित पदाधिकारीले पदभार ग्रहण गरेपछि आजै केन्द्रीय समिति बैठक बस्ने छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् ।

उपसभापति भुसालले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा होमिन बैठक बोलाइएको जानकारी दिनुभएको छ ।

बैठकमा थापालाई भावी प्रधानमन्त्री घोषणा गरी निर्वाचनमा होमिने, निर्वाचन अभियानसँग सम्बन्धित समिति गठन गर्ने र समसामयिक राजनीतिक सन्दर्भमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकपछि सभापति थापा चुनाव प्रचारका लागि सर्लाही क्षेत्र नम्बर ४ जाने कार्यक्रम छ । अघिल्लो निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित थापा यसपटक सर्लाही ४ मा वारेसमार्फत् उम्मेदवारी दर्ता गराउनु भएको छ ।

सर्वोच्च अदालतमा कांग्रेसको विवाद माथि बहस चलिरहँदा आम निर्वाचनका लागि सभापति गगनकै हस्ताक्षरमा उम्मेदवारहरु तय भएकाले उक्त विवाद क्रमशः न्यूनीकरण हुँदै गएको सन्दर्भमा नयाँ केन्द्रीय समितिको बैठक सानेपामा बस्न लागेको हो ।

सम्बन्धित खबर