
काठमाडौं । मौसमविद्हरूले पर्सि शुक्रवारदेखि वर्षासहित चिसो बढ्न सक्ने सम्भावना रहेको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना धेरै छ । उहाँले सामाजिक सञ्जालमा लेख्दै काठमाडौंसम्म सामान्य वर्षा हुन सक्ने उल्लेख गर्नुभएको छ ।
मौसमविद् उज्ज्वल उपाध्यायले पनि सामाजिक सञ्जालमा लेख्दै अहिले भूमध्य सागरमा भइरहेको हलचलका कारण शुक्रवार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा वर्षा हुन सक्ने बताउनुभएको छ ।
उहाँका अनुसार वर्षा गराउने प्रणाली गण्डकीसम्म आइपुग्ने छ भने बागमतीमा सामान्य प्रभाव रहनेछ । वर्षा र हिमपातले विपद्को सम्भावना नरहे पनि चिसोबाट जोगिन उहाँको सुझाव छ ।
यस्तै जलवायु विपद् विज्ञ डा। धर्मराज उप्रेतीले सामाजिक सञ्जालमा लेख्दै शुक्रवारदेखि आइतवारसम्म पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, लुम्बिनी, कर्णाली हुँदै पूर्वी भागसम्म पनि हिउँदे वर्षा र हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार तराईमा वर्षाको सम्भावना छैन तर प्रणालीको बादलका कारण हुस्सु हटाउने छ ।
मौसम पूर्वानुमान महाशाखाले निकालेको तीन दिनको मौसम पूर्वानुमानमा पनि शुक्रवार दिउँसो सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।
यसपालि हिउँदमा अझै पानी पर्न सकेको छैन । वर्षा गराउने प्रणाली आए पनि मध्य र पूर्वी नेपालमा भने खासै धेरै वर्षाको सम्भावना छैन । शुक्रवारदेखि केही दिन चिसो बढ्ने तर त्यसपछि घाम लागेर न्याना दिन आउने मौसमविद्को भनाइ छ ।


