
झापा । ग्रीनल्याण्ड विवादका कारण युरोपेली देशमाथि अतिरिक्त कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएपछि युरोपेली सङ्घ (ईयू)ले अमेरिकासँग वार्ताबाट नै समस्याको समाधान खोज्न चाहेको बताएको छ ।
राष्ट्रपति ट्रम्पले शनिवार इयूका सदस्य राष्ट्रहरु डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, स्वीडेन तथा गैरसदस्य बेलायत र नर्वेलाई ग्रिनल्याण्ड अमेरिकालाई हस्तान्तरण नगरेसम्म थप कर लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
ईयू अर्थात् २७ दशको समूहका नेताहरूले आउँदो बिहिवार ब्रसेल्समा आपतकालीन शिखर सम्मेलन आयोजना गर्नेछन् र ट्रान्सएटलान्टिक सम्बन्धलाई प्रभावित पार्ने वर्षौंको सबैभन्दा गम्भीर सङ्कटबारे छलफल गर्ने अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
इयूका व्यापार प्रवक्ता ओलोफ गिलले प्राथमिकता तनाव बढाउनु होइन, वार्ता र छलफलका माध्यमबाट समस्याको समाधान निकाल्नु रहेको बताउनुभएको छ । गिलले अमेरिकासँग सबै तहमा छलफल जारी रहेको समेत बताउनुभयो ।
राष्ट्रपति ट्रम्प पछि नहटे इयूले विभिन्न उपायबारे सोचिरहेको छ, जसमा पहिलो उपाय भनेको गत वर्ष अमेरिकासँग भएको वर्तमान कर विवाद सम्झौता अघि नबढाउनु हो ।
दोस्रो उपायमा ईयूमा पनिसंयुक्त राज्य अमेरिकाबाट आयात हुने ९३ अर्ब यूरो अर्थात् १०८ अर्ब डलर बराबरको आयातमा युरोपेली करहरू लागू हुन सक्छन्, जुन अहिले फेब्रुअरीको शुरुसम्मका लागि रोकिएको छ ।
यदि स्थिति परिवर्तन भएन भने तेस्रो प्रतिक्रियामा ‘बाजुका’ भनेर चिनिने ‘एन्टी–कोर्सियन इन्स्ट्रुमेन्ट’ सहित उपायहरूको अवलम्बन समावेश हुनेछ ।


