२०८२ माघ ४ आइतवार , १०:०४:२६ बजे

Sajhamanch
'

शिवसताक्षीको शुक्र माविका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

आइतवार, माघ ४, २०८२

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ७ चन्द्रडाँगीस्थित श्री शुक्र माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई जाडो मौसममा लगाउने न्यानो कपडा वितरण गरिएको छ । विद्यालयका शिशु कक्षादेखि कक्षा १० सम्म अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरिएको हो ।

झापा क्षेत्र नं. ४ का निवर्तमान सांसद एल.पी. साँवा लिम्बू, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा, नगर कार्यपालिका सदस्य गोमा रिजाल तथा वडा नं. ४ का वडाध्यक्ष विष्णु प्रसाईंले शनिबार आयोजित कार्यक्रममा विद्यालय पोशाकसँग मिल्ने फरयुक्त ज्याकेट वितरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै निवर्तमान सांसद साँवाले जाडो याममा विद्यार्थीहरुको स्वास्थ्य सुरक्षाका साथै नियमित पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले न्यानो कपडा वितरण गरिएको बताउनु भयो । ग्रामीण क्षेत्रका अधिकांश बालबालिका विपन्न समुदायबाट आउने भएकाले जाडो मौसममा विद्यालयसम्म आउन सक्ने वातावरण निर्माण गर्नु सबैको साझा दायित्व रहेको उहाँको भनाइ थियो ।

विद्यालयका प्रधानाध्यापक खगेन्द्र घिमिरेले शिवसताक्षी नगरपालिकाको पछाडि परेको क्षेत्र तथा विद्यालय छनोट गरी विद्यार्थीहरुको अध्ययनलाई सहज बनाउने उद्देश्यले न्यानो कपडा वितरण गरिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँका अनुसार विद्यालयका करिब १८० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

निवर्तमान सांसद साँवाले समाज रुपान्तरणका लागि निरन्तर रूपमा विभिन्न सामाजिक कार्य गर्दै आउनुभएको स्थानीयवासीले बताएका छन् । पछिल्लो समय उहाँले आफ्नो निर्वाचन क्षेत्रभित्रका अधिकांश विद्यालयहरुमा न्यानो कपडा वितरण गर्दै आउनुभएको छ ।

विद्यालयका अनुसार न्यानो कपडा व्यवस्थापन तथा वितरणका लागि वडा सदस्य सुरेश राजवंशीको विशेष पहल रहेको थियो । कार्यक्रमले विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारमा उत्साह थपेको छ ।

सम्बन्धित खबर