२०८२ माघ २ शुक्रवार , ०२:४२:३९ बजे

Sajhamanch
'

चुनावमा पैसाको खेल हुन नदिन समुदायस्तरबाटै चनाखो हुनुपर्छ : प्रधानमन्त्री

शुक्रवार, माघ २, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग आज बिहान नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ। भेटका क्रममा तामाङ समुदायको जनसंख्या, संस्कृति, आर्थिक-सामाजिक अवस्था लगायत विषयमा चर्चा भएको थियो।

घेदुङले आउँदो माघ ५ गते सोनाम ल्होसारका अवसरमा काठमाडौँमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउँदै उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भइदिन प्रधानमन्त्री कार्कीलाई अनुरोध गरेको छ।

साथै घेदुङका पदाधिकारीहरूले तामाङ समुदायको जनसंख्या ३० लाखभन्दा बढी भए पनि जनगणनामा भएको त्रुटिका कारण १७ लाख हाराहारी मात्र देखिएकोमा प्रधानमन्त्री ध्यानाकर्षणसमेत गराउनु भयो।

उहाँहरुले प्रधानमन्त्री कार्कीलाई अहिलेको कठिन परिस्थिति सम्हाल्न आएकोमा धन्यवाद ज्ञापन गर्दै सफलताको कामना पनि गर्नुभयो । प्रधानमन्त्री कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन एक मात्र विकल्प भएकाले समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेको बताउनु भयो।

‘मुलुक चुनावमा होमिएको छ। यो चुनाव सामान्य अवस्थाको चुनाव नभई मुलुकलाई निकास दिने र दिगो स्थिरतातिर लैजाने चुनाव हो,’ उहाँले भन्नुभयो, ‘भदौ २३ र २४ गतेलाई दिमागमा राखौँ। अब बारम्बार यो अवस्था दोहोरिनुहुँदैन। युवाको आकांक्षाअनुरुप हामी चल्नुपर्छ। तपाईँहरू पनि आउँदो चुनावमा नयाँ, युवा र इमानदार सांसद जिताएर संसदमा पठाउनुहोस्। पुरानो मानसिकताले अब देश चल्दैन। पुरानो सोच र शैलीले पनि चल्दैन। अब नयाँ नै आउनुपर्छ, युवा आउनुपर्छ र इमानदार आउनुपर्छ। युवाको भावनाअनुसार शासन चल्नुपर्छ।’

उहाँले चुनावमा पैसाको खेल हुन नदिन पनि समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने धारणा राख्नुभयो।

‘विगतमा पैसाको खेल भयो भन्ने गुनासो छ। भ्रष्टाचार अन्त्य गर्ने हो भने त्यसको सुरुवात चुनावबाटै हुनुपर्छ। मतदाता पनि यसमा चनाखो बन्नुपर्छ,’ प्रधानमन्त्रीको भनाइ थियो।