२०८२ माघ २ शुक्रवार , १२:१२:०९ बजे

Sajhamanch
'

अमेरिकासँगको तनावपछि युरोपेली नाटो शैनिकहरुको उपस्थिति ग्रीनल्याण्डमा

शुक्रवार, माघ २, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि आवश्यक भएको दाबी गरेपछि युरोपेली नाटो सदस्य देशहरूले ग्रीनल्याण्डमा सीमित सैन्य उपस्थिति जनाएका छन् ।

फ्रान्स, जर्मनी, स्विडेन, नर्वे, फिनल्यान्ड, नेदरल्यान्ड्स र बेलायतका साना सैन्य टुकडीहरू डेनमार्कको नेतृत्वमा भइरहेको ‘अपरेशन आर्कटिक एन्ड्युरेन्स’ अन्तर्गत ग्रीनल्याण्डको राजधानी नुक पुगेका बीबीसीले जनाएको छ । फ्रान्सले प्रारम्भिक रूपमा १५ सैनिक पठाएको छ भने जर्मनीले १३ सैनिकसहितको ए–४०० एम विमान पठाएको जनाएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले चाँडै स्थल, आकाश र समुद्री साधनसहित थप सैन्य बल पठाइने बताउनुभएको छ । फ्रान्सका वरिष्ठ कूटनीतिज्ञ ओलिभिए प्वाभ्र द आर्भोरले यस कदमलाई ‘राजनीतिक सन्देश दिने पहिलो अभ्यास’ भन्दै नाटो ग्रीनल्याण्डमा उपस्थित रहेको देखाउन गरिएको बताउनुभएको छ ।

यसैबीच, डेनमार्क र ग्रीनल्याण्डका विदेश मन्त्रीहरूले वासिङ्टनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गरे पनि दुवै पक्षबीच ‘मौलिक असहमति’ कायमै रहेको डेनमार्कले जनाएको छ । ट्रम्पले भने ग्रीनल्याण्ड अमेरिकाका लागि अपरिहार्य रहेको दोहोर्याउँदै आवश्यक परे बल प्रयोगको विकल्प अस्वीकार नगरेको संकेत दिनुभएको छ ।

पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले ग्रीनल्याण्डमा अमेरिकी सैन्य हस्तक्षेप भए नाटोका लागि ‘राजनीतिक विपत्ति’ हुने चेतावनी दिनुभएको छ । उता, रुसले नाटोले आर्कटिक क्षेत्रमा सैन्य उपस्थिति बढाएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।

ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेनले आफ्नो भूमि अमेरिकाको स्वामित्व वा शासन स्वीकार्य नहुने स्पष्ट पार्नुभएको खबरमा उल्लेख छ । शैनिक तैनाथी संख्यामा सानो भए पनि यसलाई नाटोको आर्कटिक क्षेत्रमा बढ्दो रणनीतिक चासो र ट्रम्प प्रशासनलाई युरोपेली देशहरूको स्पष्ट सन्देशका रूपमा हेरिएको छ ।

सम्बन्धित खबर