२०८२ पौष २९ मङ्गलवार , १२:२१:५३ बजे

Sajhamanch
'

कांग्रेसमा सहमति जुटाउन छलफल चल्दै : विशेष महाधिवेशनमा दोस्रो दिनको बन्दसत्र शुरु

मङ्गलवार, पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षबीच सहमतिका लागि छलफल भइरहेको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढेसँगै संस्थापन र विशेष महाधिवेशन पक्ष संवादमा जुटेका छन् ।

विशेष महाधिवेशन पक्षधरले संस्थापन पक्षसँग वार्ताका लागि प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे रहेको समिति बनाएको छ । संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँणले छलफल गरिरहनुभएको छ ।

त्यस्तै नेता शेखर कोइराला पक्ष पनि संयुक्त बैठकमा सहभागी छन् । विशेष महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र शुरु भएको छ । बन्दसत्रले सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरेको छ । संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच वार्ता चलिरहेको बेला निर्वाचन समिति गठन गरिएको हो ।

निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल, रामचन्द्र गौतम सदस्य रहनुभएको छ । महामन्त्री थापा र शर्माको नेतृत्वमा आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ ।

यसैबीच संस्थापन पक्षको आह्वानमा आज बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक दिउँसो १ बजेका लागि सारिएको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने गरी सारिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । तर विशेष महाधिवेशन पक्षधर नेताहरु भने कार्यसमितिको बैठकमा उपस्थित नहुने भएका छन् ।