
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदैछ । विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थाप र विश्वप्रकाश शर्माको टोलीले वार्ता गर्न लागेको हो ।
आज हुने वार्तामा विशेष पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी हुनेछन् । संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुनेछन् ।
विशेष पक्षले सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षलाई बोलाए पनि उनीहरू भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उपस्थित भएका थिएनन् । सभापति देउवाले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देश समेत निकटस्थहरू मार्फत् दिइरहेका छन् ।
कांग्रेसका ५१ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले तत्काल नीति र नेतृत्व परिवर्तनमा जोड दिएका छन् । संस्थापन पक्षले बेवास्ता गरे जारी विशेष महाधिवेशनबाट आजैदेखि निर्वाचन प्रक्रिया थाल्ने उनीहरूको चेतावनी छ ।

आज हुने भनिएको वार्ताको स्थान र समय तोकिएको छैन । यो वार्तापछि विशेष महाधिवेशन कसरी अघि बढाउने भन्ने टुंगो लाग्ने नेताहरुले बताएका छन् ।
यसैबीच, नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरु पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने भएका छन् ।
आज बिहान ११ बजे बस्नेगरी बैठक आह्वान गरिएको बैठकमा सहभागी नहुने निर्णय गरेको नेताहरुले जानकारी दिएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
पार्टीको एक पक्षले विशेष महाधिवेशन गरेपछि विवाद बढ्दै गएको छ । संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशन अवैधानिक भनिरहेका छन् भने विशेष पक्षधरहरूले भने नेतृत्व र नीति चुन्नेगरी अघि बढ्ने बताएका छन् ।


