
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा शुरू भएको पार्टीको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी भएका छन् ।
काठमाण्डौको भृकुटीमण्डपमा हिजोदेखि शुरू भएको विशेष महाधिवेशनमा सहभागी कांग्रेसका प्रतिनिधिहरु हलबाटै नयाँ नेतृत्व चयन गर्नुपर्ने मनस्थितिमा छन् । यसअघि पार्टीको १४औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गरेका बहुमत प्रतिनिधि नै उहाँको विपक्षमा उभिएका हुन् ।
कांग्रेसका ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ६६२ प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी छन् । सम्पर्कमा रहेका र आउँदै गरेका प्रतिनिधिसमेत गरेर ६० प्रतिशतभन्दा बढी सहभागी हुने आयोजकको दाबी छ । संस्थापन पक्षले भने विशेष महाधिवेशन वैधानिकता र दाबी गरिएको संख्या दुवै गलत भएको टिप्पणी गरेको छ ।
तर आफूलाई सभापतिमा जिताउने प्रतिनिधि नै विपक्षमा उभिँदा नेतृत्वमा पार्टीको नेतृत्व गरिरहेका सभापति देउवामाथि राजनीतिक र नैतिक दबाब बढेको छ । संस्थापनपक्षले विशेष महाधिवेशनमा सहभागी नहुन दबाब दिए पनि जिल्ला जिल्लाबाट बहुमत महाधिवेशन प्रतिनिधिहरू हिजोको विशेष महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भए ।
कोशी प्रदेशबाट ४२५, मधेश प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सुदूरपश्चिम प्रदेशबाट १४८, उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) बाट १७८ र भातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिबाट १९५ गरी दुई हजार ६६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका हुन् ।
संस्थापन पक्षको अनुपस्थितिबीच शुरू भएको विशेष महाधिवेशनलाई कांग्रेस पुनर्गठनको नवीन प्रयोगको रुपमा हेरिएको छ । पार्टीको मुख्य नेतृत्वले रुपान्तरण हुन नचाहँदा नचाहँदै पनि युवापुस्ताको विद्रोहले पार्टीभित्र र अरु दललाई रुपान्तरणका लागि दबाव सिर्जना गरेको छ ।
विशेष महाधिवेशनप्रति बढेको पक्षधरता, कार्यकर्तापंक्तिको सहभागिता र उनीहरूको ऊर्जाले विशेष महाधिवेशनको उद्घाटन सत्र उत्साहजनक देखियो । विशेष महाधिवेशनमा उपस्थित कार्यकर्तापंक्ति नेतृत्व र नीति परिवर्तनप्रति दृढ देखिएका छन् । विशेष महाधिवेशनको बन्द सत्र आज बिहान १० बजेदेखि शुरू हुने भएको छ ।


