२०८२ पौष २७ आइतवार , ०८:४९:३८ बजे

Sajhamanch
'

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

आइतवार, पौष २७, २०८२

काठमाडौं । इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधन भएको छ । ४२ वर्षका तामाङलाई ह्रदयघात भएर नयाँ दिल्लीको एक अस्पतालमा पुर्‍याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

फिल्मकर्मी राजेश घतानी, गायक प्रमोद खरेललगायतले तामाङको निधनप्रति सामाजिक सञ्जालमार्फत श्रदाञ्जली व्यक्त गरेका छन् । भारतीय सञ्चारमाध्यमहरूले अरुणाचल प्रदेशमा कार्यक्रम सकेर दिल्ली फर्किएलगत्तै उनको निधन भएको जनाएका छन् ।

पश्चिम बङ्गालको दार्जिलिङमा साधारण परिवारमा जन्मिएका तामाङले सन् २००७ मा तेस्रो संस्करणको इन्डियन आइडलको उपाधिसँगै राष्ट्रियस्तरको ख्याति हासिल गरेका थिए । नेपाली भाषी तामाङलाई इन्डियन आइडलमा जिताउन नेपालमा पनि भोटिङ अभियानहरू चलेका थिए ।

कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा सेवा थालेका तामाङले पछि राजीनामा दिएका थिए । उनले गाएका थुप्रै नेपाली गीत चर्चित छन् । तामाङले ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायतका नेपाली चलचित्रमा अभिनय गरेका छन् ।

तामाङले सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यु गरेका थिए ।