२०८२ पौष २७ आइतवार , ०९:५७:५२ बजे

Sajhamanch
'

अर्जुनधारा ६ को बाल कल्याण आविमा रजत महोत्सव कार्यक्रम तथा लोगो सार्वजनिक

शनिवार, पौष २६, २०८२

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ६ स्थित बाल कल्याण आधारभूत विद्यालयले आज एक कार्यक्रमका बीच रजत महोत्सव २०८२ को लोगो तथा वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्जुनधारा ६ का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, अध्यक्ष प्रसाईंसहित अतिथिहरुले संयुक्तरुपमा लोगो सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको लोगोमा २५ वटा तारा, विद्यालय र एक जोडी परेवाको चित्रसहित २५ अंक रहेको छ । २०५७ सालमा स्थापना भएको विद्यालयको रजत वार्षिकोत्सवको औपचारिक तयारीको संकेतसँगै वार्षिकोत्सवको अवसरमा विद्यालयले गर्ने विभिन्न कार्यक्रमहरु बारे सबैलाई जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको प्रधानाध्यापक डम्बर यादवले बताए ।

२०५७ सालमा शिक्षासेवीहरुको मुष्ठिदानबाट सुरु गरिएको सो विद्यालयमा हाल १३ जना शिक्षक कर्मचारीहरु दरबन्दीमा कार्यरत छन् भने १८० जना विद्यार्थीहरु अध्ययनरत रहेको जनाइएको छ ।

कार्यक्रममा विद्यालयका सल्लाहकार समितिका संयोजक एवम् निवर्तमान वडाध्यक्ष लोकनाथ गौतम, वार्षिकोत्सव मूल आयोजक समारोह आर्थिक उपसमितिका संयोजक गोपाल चुँडाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

आगामी माघ २७ गते हुने विद्यालयको रजत वार्षिकोत्सव मनाउने, आगामी चैत मसान्तभित्र विद्यालयको स्थापनाकालदेखि हालसम्मको अवस्था चित्रण गरी रजत स्मारिका प्रकाशन गर्ने, आधारभूत तहमा जिल्लास्तरीय चित्रकला प्रतियोगिता आयोजना गर्ने आदि कार्यक्रमहरु रहज महोत्सवमा समेटिएका प्रधानाध्यापक यादवले जानकारी दिए ।

प्रधानाध्यापक यादवले विद्यालयको पृष्ठभूमि, वार्षिकोत्स्वको तयारीसँगै स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक मदनकुमार निरौलाले गरेका थिए ।

सम्बन्धित खबर