२०८२ पौष २६ शनिवार , ०९:१५:२१ बजे

Sajhamanch
'

अबदेखि एउटै चेकबाट ५ लाखभन्दा बढी नगद निकाल्न नमिल्ने

शुक्रवार, पौष २५, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँभन्दा धेरैको एउटै चेक साटेर नगद झिक्न नपाइने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले ५ लाखभन्दा माथिको चेक जारी गर्दा एकाउन्ट पेयी अनिवार्य गर्दै यस्तो व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले यसभन्दा अघिको १० लाखसम्मको नगद कारोबार घटाइ ५ लाखमा झारेको हो । सरकारले सम्पत्ति शुद्धीकरण निवारण गर्न नगद कारोबारलाई १० लाखबाट ५ लाखमा घटाएको हो ।

उक्त निर्णय नेपाल राजपत्रमा प्रकाशित भए पनछ केन्द्रीय बैंकले चेकबाट प्रतिपटक झिक्न सकिने नगद ५ लाख कायम गरेको हो । साथै, ५ लाखभन्दा धेरै रकम सम्बन्धित व्यक्तिको खातामा मात्रै जम्मा हुन सक्ने व्यवस्था गरेको हो ।

कुनै पनि व्यक्ति वा संस्थाले हरेक पटकको कारोबार नगदमा गर्दा ५ लाखभन्दा कम र त्यसभन्दा धेरैको गर्नुपर्दा एकाउन्ट पेयी चेकमार्फत गर्नुपर्ने व्यवस्था गरेको छ ।

तर, यो व्यवस्थाले कुनै पनि परिवारले सामाजिक कार्य गर्न वा व्यापार मार्फत नगद संकलन गरेको अवस्थामा भने असर नगर्ने राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले बताउनु भएको छ ।

केन्द्रीय बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले ५ लाख वा त्यसभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य एकाउन्ट पेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्ने छ ।

साथै फर्म, कम्पनी, संस्था वा कार्यालयका नाममा खिचिएका चेकको भुक्तानीसमेत एकाउन्ट पेयी नै हुनुपर्ने छ ।

तर, कुनै निक्षेपकर्ता वा बचतकर्ताले कुनै खास कारण देखाइ नगद भुक्तानीका लागि दिएको निवेदनको बेहोरा र कारण मनासिब देखिए त्यस्तो निक्षेपकर्ता वा बचतकर्तालाई उल्लेखित सीमाभन्दा बढी नगद भुक्तानी गर्न सक्नेछन् । त्यसरी भुक्तानी दिएको मासिक विवरण अद्यावधिक गर्नुपर्ने छ ।

त्यस्तै लघुवित्त वित्तीय संस्थाले पनि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ को उद्देश्यमा समेत सहयोग पुर्‍याउन ५ लाख वा त्यसभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य एकाउन्ट पेयी चेकमार्फत गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।