
झापा । ब्राजिलले भेनेजुएलासँगको सीमा नजिक राष्ट्रिय गार्ड सेना पठाउने योजना बनाएको छ ।
ब्राजिलले भेनेजुएलाको सिमानामा रहेको र अन्तर्राष्ट्रिय सीमाको दुवै छेउमा अवैध रूपमा लागूऔषध ओसारपसार गर्ने र खानी उत्खनन गर्ने अवैध सशस्त्र समूहहरूको बलियो उपस्थिति रहेको उत्तरी रोराइमा राज्यमा राष्ट्रिय गार्ड सेना पठाउने योजना बनाएको समाचार संस्था अलजजीराले जनाएको छ ।
सरकारले राष्ट्रिय सार्वजनिक सुरक्षा बल (एफएनएसपी) लाई पकाराइमाका साथै रोराइमाको राजधानी, बोआ भिस्टा, सीमाबाट झन्डै २ सय १३ किलोमिटर टाढा पठाउन अधिकार दिएको छ । सरकारले सेनाको सङ्ख्या भने उल्लेख गरेको छैन ।
अमेरिकाले गएको शनिवार भेनेजुएलामा आक्रमण गरेर त्यहाँका राष्ट्रपति निकोलस मादुरो दम्पतीलाई पक्राउ गरेपछि ब्राजिलले यो कदम चालेको हो ।
आइतवार ब्राजिलले पकाराइमा नजिकै भेनेजुएलासँगको आफ्नो सीमा अस्थायी रूपमा बन्द गरेको थियो ।
राष्ट्रिय सार्वजनिक सुरक्षा बलले राज्यको सार्वजनिक सुरक्षा एजेन्सीहरूलाई सहयोग गर्नुका साथै सार्वजनिक व्यवस्थाको संरक्षण तथा नागरिक र सम्पत्तिको सुरक्षा गर्ने खबरमा उल्लेख छ ।


