२०८२ पौष २६ शनिवार , ०२:४०:०२ बजे

Sajhamanch
'

इरानमा सरकारविरोधी प्रदर्शन तीव्र, अहिलेसम्म ४२ जनाको ज्यान गयो

शुक्रवार, पौष २५, २०८२

झापा । इरानको राजधानी तेहरान तथा दोस्रो ठूलो शहर मशहदसहित देशका विभिन्न शहरहरूमा सरकार विरोधी प्रदर्शन भएका छन् ।

बीबीसीका अनुसार पछिल्ला वर्षहरूमै सबैभन्दा ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका छन् । शान्तिपूर्ण रूपमा शुरू भएका यी प्रदर्शनहरू देशभर फैलिएका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवा कटौती गरेका छन् । प्रदर्शनकारीहरूले त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको राजीनामा माग गर्दै नारा लगाएका छन् ।

साथै उनीहरूले निर्वासित नेता रेजा पहलवीको पुनरागमनको समर्थनमा पनि नारा लगाएका खबरमा उल्लेख छ । पहलवीले केही समयअघि आफ्ना समर्थकलाई सडकमा उत्रन आह्वान गर्नुभएको थियो । मानवअधिकार संस्थाहरूका अनुसार यो आन्दोलन इरानका सबै ३१ प्रान्तका १०० भन्दा बढी शहर र गाउँमा फैलिएको छ ।

एक अमेरिकी संस्थाका अनुसार अहिलेसम्म कम्तीमा ३४ प्रदर्शनकारी र ८ सुरक्षाकर्मीको ज्यान गएको छ भने झन्डै २ हजार ३०० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् । ज्यान गुमाउनेको संख्या बढ्न सक्ने भनिएको छ । कुर्द बाहुल्य इलाकाहरूमा विपक्षी समूहको आह्वानमा व्यापक हडताल भएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीमाथि दमन भए र कसैको ज्यान गए सैन्य हस्तक्षेप गर्न सकिने चेतावनी दोहोर्याउनुभएको छ । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले भने सुरक्षा बललाई संयम अपनाउन निर्देशन दिएका खबरमा भनिएको छ ।

आन्दोलन इरानी मुद्रा रियालको ऐतिहासिक अवमूल्यन, ४० प्रतिशत नाघेको मुद्रास्फीति, भ्रष्टाचार र आर्थिक संकटको विरोधमा चर्किएको हो ।