
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अस्ति र हिजो देशभर भएका १९ वटा विपद् सम्बन्धी घटनामध्ये १५ वटा आगलागीका रहेका छन् ।
ती घटनामा परेर कूल ४८ जना घाइते भएका छन् भने १ जनाको ज्यान गएको छ । विपद्का कारण झन्डै १० लाख १२ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार सुनसरी, सिरहा, सर्लाही तथा रौतहटका दुई ठाउँमा आगलागीका घटना भएका छन् । यस्तै बारा, कैलाली, कञ्चनपुर, अछाम र डडेल्धुरामा पनि आगलागी भएको छ ।
सोलुखुम्बु, ओखलढुङ्गा, म्याग्दी, रुकुम पूर्व र कालीकोटमा वन क्षेत्रमा डढेलो लागेको छ । हिउँदयाममा विभिन्न कारणले आगलागीका घटना बढेको प्राधिकरणले जनाएको छ । विद्युत् सर्ट हुनु, परालको कुन्यूमा असावधानीवश आगो लाग्नु तथा गोठमा सामान्य सावधानी नअपनाई आगो बाल्दा क्षति भएको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले आगो बाल्दा विशेष सावधानी अपनाउन, प्रयोगपछि आगो पूर्ण रूपमा निभाउन तथा ज्वलनशील पदार्थ जथाभावी नराख्न सबैमा आग्रह गरेको छ ।


