२०८२ पौष २५ शुक्रवार , १२:३०:५५ बजे

Sajhamanch
'

भारतका वरिष्ठ पर्यावरणविद् माधव गाडगिलको निधन

बिहिवार, पौष २४, २०८२

झापा । भारतीय पर्यावरण संरक्षणका क्षेत्रमा विश्वव्यापी ख्याति कमाएका वरिष्ठ पर्यावरणविद् तथा पारिस्थितिकीविद् माधव गाडगिलको निधन भएको छ ।

८३ वर्षको उमेरका गएराति पुनेको एक अस्पतालमा उहाँको निधन भएको बीबीसी हिन्दीले जनाएको छ । उहाँको अन्त्येष्टि अहिले ४ बजे हुँदैछ ।

गएको वर्ष डिसेम्बर महिनामा संयुक्त राष्ट्रसङ्घले पर्यावरण संरक्षणका क्षेत्रमा आजीवन योगदानका लागि गाडगिललाई प्रतिष्ठित ‘च्याम्पियन्स अफ अर्थ’ लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो ।

यो सम्मान राष्ट्रसङ्घको पर्यावरणसम्बन्धी सर्वोच्च उपाधि मानिन्छ । भारत सरकारले उहाँलाई सन् २००६ मा पद्म भूषण र सन् १९८१ मा पद्मश्रीबाट सम्मानित गरिसकेको छ ।

गाडगिल भारतको पश्चिमी घाट संरक्षणका लागि विशेष परिचित हुनुहुन्थ्यो । उहाँले बनाउनुभएको चर्चित प्रतिवेदनलाई विश्व सम्पदा समिति र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले पनि विशेष समीक्षा गरेका थिए । उहाँले ७ पुस्तक र २२५ भन्दा धेरै वैज्ञानिक शोधपत्र लेख्नुभएको छ ।

गाडगिलको कामले विश्वभर पर्यावरण संरक्षणमा समुदायको भूमिका र स्थानीय ज्ञानको महत्त्वलाई उजागर गर्दै आएको थियो ।