
काठमाडौं । अमेरिकाले नेपाललाई पनि भिसा लिँदा धरौटी अर्थात् ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा राखेको छ ।
अमेरिकाको विदेश मन्त्रालयले जारी गरेको सूचनाअनुसार यही जनवरी २६ तारिखदेखि बी–वान, बी–टु अर्थात् पर्यटक वा व्यावसायिक भिसा लिने नेपालीले पनि ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर धरौटी पेश गर्नुपर्ने छ ।
भिसाका लागि हुने अन्तर्वार्ताका क्रममा कन्सुलर अफिसरले व्यक्तिको अवस्था हेरेर धरौटीको रकम तय गर्नेछन् । धरौटी राख्दैमा भिसा जारी हुने सुनिश्चित भने हुँदैन ।
अमेरिकाले अहिलेसम्म ३८ देशका नागरिकका लागि धरौटी राख्नुपर्ने प्रावधान राखेको छ । जसमा दक्षिण एशियाका देशहरू बङ्गलादेश र भुटान पनि छन् ।
अमेरिकाको यात्रा गरेर निश्चित समयभित्र अमेरिकाबाट बाहिरिएपछि वा भिसा कायम रहेको अवधिभित्र अमेरिकाको यात्रा नगरेमा भिसावाहकको रकम फिर्ता हुन्छ । भिसा भएको तर अमेरिका प्रवेश गर्ने अनुमति नपाएको अवस्थामा पनि धरौटी फिर्ता हुन्छ ।
अमेरिकाले बी–वानरबी–२ भिसावाहकका लागि अमेरिका प्रवेश गर्न र बाहिरिनका लागि तीन वटा विमानस्थल पनि तोकेको छ । बस्टन लोगन अन्तर्राष्ट्रिय विमानस्थल (बीओएस), न्यूयोर्कमा रहेको जोनएफ केनडी अन्तर्राष्ट्रिय विमानस्थल (जेएफके) र वाशिङ्टनमा रहेको डलस अन्तर्राष्ट्रिय विमानस्थल (आईएडी) बाहेक अन्य विमानस्थल प्रयोग गरेर प्रवेश वा बहिर्गमनको अनुमति नहुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।


