
काठमाडौं । राष्ट्रियसभा चुनावमा कांग्रेस, एमाले र जनता समाजवादी पार्टी नेपाल (जसपा) बिच तालमेल हुने भएको छ ।
यसअघि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहित तालमेलको प्रयास भए पनि अन्तिममा नेकपा गठबन्धनबाट अलग भएको छ । उसले ४ सीट माग्दै आएको थियो । तर सहमति नजुटेको नेताहरुले बताएका छन् ।
कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट लिने सहमति बनेको नेताहरुले बताएका छन् । त्यसअनुसार जसपा नेपालबाट महन्थ ठाकुरको नाम लगभग तय भएको छ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले आफ्ना ९ उम्मेदवार कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेश प्रदेशबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खातीलाई चयन गर्ने निर्णय गरेको छ ।
त्यस्तै एमालेले रोशनी मेचे, सोम पोर्तेल, रेखा झा, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारीलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने भएको छ । गठबन्धन नगर्ने अवस्थामा पुगेको नेकपा अहिले छलफलमा छ ।


