
काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यका उम्मेदवार टुंगो लगाएको छ । १८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ६ जनाको नाम टुंगो लगाएको हो ।
एमालेले नेतृ रामकुमार झाँक्रीसहितको नाम टुंगो लगाएको छ । झाँक्री लुम्बिनीबाट उम्मेदवार बन्ने छिन् ।
यस्तै, कोशीमा रोशनी मेचे, बागमतीमा डा। प्रेमकुमार दङ्गाल, गण्डकीमा सम्झना देवकोटा, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आगामी फागुन ११ गने हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आजै मनोनयन दर्ता हुने भए पनि दलहरुबीच भागबन्डाको सहमति भइसकेको छैन ।
कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी, नेपालबीच सहमति गर्ने प्रयास भए पनि सफल भएको छैन । जसअनुसार एमाले-कांग्रेसलाई ७/७, नेकपालाई ३ र जसपा नेपाललाई एक सिट दिने गरी सहमति प्रयास भएको छ । यसै अनुसार एमालेले उम्मेदवार छनोट गरेको हो । मधेशमा भने एमालेले नाम टुंगो लगाएको छैन ।


