
फुङलिङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट चालु आर्थिक वर्षमा १ करोड ६४ लाख १५ हजार ६०० रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिर महिनासम्म पाँच महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार साउनमा १० लाख ३९ हजार, भदौमा ९ लाख ९७ हजार, असोजमा ३३ लाख ८२ हजार, कात्तिकमा ३४ लाख ४८ हजार ५०० रुपियाँ र मङ्सिरमा ७५ लाख ४९ हजार १०० रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको सबैभन्दा बढी मङ्सिरमा भेटी सङ्कलन भएको हो ।
यस्तै, गत आर्थिक वर्षमा ३ करोड ११ लाख ६४ हजार ६७६ रुपियाँ र अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ३ करोड ९८ लाख ४१ हजार ९५८ रुपियाँ भेटी रकम सङ्कलन भएको कार्यकारी निर्देशक हाङ्बाङको भनाइ छ।
तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी पोकामा लाहाछाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् ।
फेदीमा सङ्कलन गरी फुङलिङमा रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरी बैँकमा जम्मा गर्ने प्रचलन छ । कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने गरी समितिले व्यवस्थापन गरेको छ।
चालु आवमा झण्डै १ लाख तीर्थयात्री
चालु आर्थिक वर्षको ५ महिनामा झण्डै १ लाख तीर्थयात्री पाथीभरा दर्शनका लागि आएका छन् । समितिका अनुसार मङ्सिरमा १९ हजार १८१ जना भक्तजन पाथीभरा पुगेका छन् । यस्तै, सबैभन्दा बढी चालु आर्थिक वर्षको कात्तिकमा ४२ हजार २६१ र सबैभन्दा कम साउनमा २ हजार १४६ जना भक्तजन मन्दिर पुगेका छन् ।
कात्तिक प्रमुख सिजन भएको बढी दर्शनार्थी आएको र साउनमा बाढी पहिरोको जोखिम भएको कम आएको समितिको भनाइ छ । त्यस्तै, चालु आवको भदौमा ४ हजार ५०३ जना र असोजमा २९ हजार १७४ जना भक्तजन मन्दिर दर्शनका लागि आएका छन् ।
तीर्थयात्रीको गणना समितिका कर्मचारीमार्फत माथिल्लो फेदीमा दैनिक रुपमा हुनेगरेको छ । गत आर्थिक वर्षमा २ लाख १७ हजार ८७६ जना र अघिल्लो आर्थिक वर्षमा २०८०/८१ मा २ लाख ३१ हजार ३३४ जना तीर्थयात्रीले मन्दिर दर्शन गरेका थिए ।


