२०८२ पौष २२ मङ्गलवार , १०:२७:१४ बजे

Sajhamanch
'

भेनेजुएलामाथि अमेरिकी सैन्य कारबाहीपछि राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक बस्दै

सोमवार, पौष २१, २०८२

झापा । अमेरिकाले भेनेजुएलामाथि सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक आज बस्दै छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुनका लागि ‘खतरनाक नजिर’ भएको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

कूटनीतिज्ञहरूका अनुसार कोलम्बियाको अनुरोधमा, रूस र चीनको समर्थनसहित १५ सदस्यीय सुरक्षा परिषद्को बैठक बस्न लागेको हो । अमेरिका र भेनेजुएलाबीच बढ्दो तनावका कारण सुरक्षा परिषद् बैठक यसअघि पनि गएको अक्टोबर र डिसेम्बरमा दुई पटक बैठक बसेको थियो । महासचिव गुटेरेसले सबै पक्षले संयुक्त राष्ट्रसंघको चार्टरसहित अन्तर्राष्ट्रिय कानुनको पूर्ण सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

अहिलेको घटनाक्रमले अन्तर्राष्ट्रिय कानुनका नियमहरू उल्लङ्घन भएको गम्भीर आशंका पैदा गरेको उहाँको भनाइ छ । भेनेजुएलाका संयुक्त राष्ट्रसंघका राजदूत सामुएल मोन्काडाले अमेरिकी कारबाहीलाई ‘औपनिवेशिक युद्ध’ को संज्ञा दिँदै कडा आलोचना गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा ‘सुरक्षित, उचित र विवेकपूर्ण सत्ता हस्तान्तरण नहुन्जेलसम्म’ अमेरिकाले त्यहाँको प्रशासन सम्हाल्ने बताउनुभएको छ । तर त्यससम्बन्धी स्पष्ट कार्ययोजना सार्वजनिक गरिएको छैन ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरो लागूऔषध तस्करीसँग जोडिएको तानाशाह भएको टिप्पणी गर्नुभएको छ । अमेरिकी सेनाले भेनेजुएलामाथि आक्रमण गर्दै त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी अमेरिका पुर्याएसँगै विश्व राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ ।

सम्बन्धित खबर