२०८२ पौष २१ सोमवार , ०८:०६:२५ बजे

Sajhamanch
'

बुद्ध एयरको दुर्घटनाग्रस्त विमान झिक्ने प्रयास आज पनि जारी, बिराटनगरबाट ५० टन क्षमताको क्रेन झिकाइयो

आइतवार, पौष २०, २०८२

झापा । भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति धावनमार्गबाट बाहिरिएको बुद्ध एयरको एटीआर–७२ विमानलाई घटनास्थलबाट हटाउने काम आज आइतबार पनि जारी रहेको छ।

शनिबार अबेरसम्म दुईटा साना क्रेनले जहाज झिक्ने प्रयास असफल भए पछि आज आइतबार विराटनगरबाट ५० टन भार उठाउने झमता भएको अर्को ठूलो क्रेन झिकाइएको विमानस्थल स्रोतको भनाई छ ।

‘धसिएको विमानलाई सुरक्षित स्थानमा सार्न १० र १५ टन क्षमताका क्रेन प्रयोग भए पनि सफल नभएकाले आज बिहान विराटनगरबाट ५० टन क्षमताको ठूलो क्रेन ल्याएर विमान उठाउने तयारी भइरहेको छ’ बुद्ध एयरका विमानस्थल कर्मचारीले भने, ‘आज जहाजलाई उचालेर खोल्सो पारि सुरक्षित स्थानमा सार्ने योजना बनाइएको छ ।’

घटनास्थल मै रहेको विमानभित्रबाट सबै ७२ सिट निकालेर चौरमा राखिएको छ भने करिब १ हजार २०० सय किलो इन्धन पनि निकालेर सुरक्षित रूपमा डम्प गरिएको जनाइएको छ ।

शनिबार बुद्ध एयरले काठमाडौंबाट १८ जना प्राविधिकसहित अर्को एटीआर विमानमार्फत उद्धार टोली भद्रपुर पठाएको थियो । त्यस्तै प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णसहितको टोली शनिबार बुद्धको रिलिफ उडानबाट घटनास्थल पुगेको थियो र शनिबारै त्यो टोलीका अधिकांश सदस्य काठमाडौं फर्किसकेका छन् ।

‘विमानको पुच्छर धावनमार्ग नजिकै रहेकाले हाल जोखिम मोलेर उडान सञ्चालन गर्नुपरेको छ’ भद्रपुर विमानस्थलका प्रमुख किशोरकुमार खत्री भन्छन्, पूर्वी धावनमार्गको लम्बाई १ हजार ५०० मिटर भए पनि हाल २८ नम्बर बिन्दुबाट १०० मिटर घटाएर उडान सञ्चालन भइरहेको छ ।

‘अन्य जहाजलाई टेकअफ गर्दा अन्तिम बिन्दुसम्म जहाज पुग्छ, तर अवतरणमा १ सय मिटर छाडेर मात्रै अवतरण गर्न अनुमति दिइएको छ’ उनले भने । दुर्घटनाग्रस्त विमान धावनमार्गको अन्तिम बिन्दुभन्दा करिब डेढ सय मिटर अगाडि धसिएको छ।

सम्बन्धित खबर