
काठमाडौं । नेकपा एमालेले अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिनु आपत्तिजनक भएको बताएको छ ।
महासचिव शंकर पोखरेलले संयुक्त राष्ट्रसंघ लगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्ने गरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन गरेको दावी गर्नुभएको छ ।
अमेरिकाको यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन नसक्ने उल्लेख गर्दै महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गर्नुभएको हो ।

‘भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरू माथि गम्भीर प्रश्न उठाएको छ । यसप्रकारका विषयमा स्वयं अमेरिकी समाजभित्रै गम्भीर र जिम्मेवार बहस आवश्यक देखिन्छ’ महासचिव पोखरेलको स्टाटसमा उल्लेख छ ।
एमाले सचिव महेश बस्नेतले पनि सो घटनालाई निन्दनीय भन्दै टिप्पणी गर्नुभएको छ । उहाँले कुनै पनि देशको सार्वभौमिकता शक्तिमा होइन, जनतामा निहित हुने स्पष्ट पार्नुभएको छ ।

सचिव बस्नेतले भेनेजुएलामा भएको बाह्य हस्तक्षेपले अन्तर्राष्ट्रिय कानुन, स्वाधीनता र विश्वशान्तिको मर्ममाथि गम्भीर प्रश्न उठाएको बताउनुभयो । उहाँले विश्वशान्ति र राष्ट्रहरूको स्वाधीनताको पक्षमा अन्तर्राष्ट्रिय समुदाय एकताबद्ध भएर प्रतिरोधमा उत्रिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।
“कुनै पनि राष्ट्रमाथि बल प्रयोग गरेर हस्तक्षेप गर्नु सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन” उहाँले भन्नुभएको छ, “यस्ता कदमले विश्व व्यवस्थालाई अझ अस्थिर बनाउने खतरा हुन्छ।”


