
काठमाडौं । बैंकिङ प्रणालीबाट क्रिप्टो लगायतका अवैध भर्चुअल मुद्राको कारोबार बढेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको भर्चुअल असेस्ट सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन अनुसार बियान्से, युएसडिटी, क्रिप्टो, बिट क्वाइन, हाइपर फण्ड, हाइपरभर्स, एमटी क्वाइन जस्ता अभौतिक मुद्रा र सम्पत्ति किनबेचको लागि बैंकिङ खाताको प्रयोग भएको पाइएको हो ।
प्रतिवेदनअनुसार सन् २०२१ मा १३ वटा यस्ता जोखिम देखिएकोमा सन् २०२४ सम्म आइपुग्दा यो संख्या बढेर २५२ पुगेको छ । यस्ता शंकास्पद गतिविधिमा संलग्न हुनेहरूमा युवा अर्थात २१ देखि ३५ वर्षका व्यक्तिहरू सबैभन्दा धेरै (७५ प्रतिशत) रहेको प्रतिवेदनमा उल्लेख छ ।
यसबाट प्रविधिमा अभ्यस्त युवा पुस्ता अनलाइन ठगी र छिटो धनी हुने प्रलोभनमा पर्ने जोखिम धेरै रहेको देखिएको छ । साथै उनीहरूमा वित्तीय साक्षरताको कमी देखिएको विश्लेषण गरिएको छ ।
नेपालमा भर्चुअल एसेटसम्बन्धी सम्पूर्ण क्रियाकलाप कानुनी रूपमा निषेध गरिए पनि यस्तो सम्पत्तिको प्रयोग हुन्डी कारोबार, अनलाइन वित्तीय ठगी, अनलाइन जुवा र सम्पत्ति शुद्धीकरणजस्ता अवैध कार्यमा भइरहेको प्रतिवेदनले देखाएको छ ।
वित्तीय अपराधमा संलग्नहरुले ‘मनी म्युल्स’ को रूपमा परिवारका सदस्य र आफन्तको बैँक खाता प्रयोग गर्ने, वैधानिक व्यवसायको आवरणमा क्रिप्टो कारोबार गर्ने र डलर कार्डको दुरुपयोग गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।
भर्चुअल एसेटसम्बन्धी जोखिमलाई सम्बोधन गर्न राष्ट्र बैंकले यससँग सम्बन्धित कुनै पनि कारोबार नगर्न, ग्राहकको पहिचान र कोषको स्रोतबारे विस्तृत जाँच गर्न र शंकास्पद गतिविधि देखिएमा तुरुन्त वित्तीय जानकारी इकाईमा प्रतिवेदन पेश गर्न सुझाव दिएको छ ।
अनौपचारिक अर्थतन्त्रमा यस्ता कारोबारहरू भइरहेकाले यसलाई नियन्त्रण गर्न प्राविधिक क्षमता अभिवृद्धि र व्यापक जनचेतना आवश्यक रहेको प्रतिवेदनको निचोड छ ।
मुलुकी अपराध संहिता अनुसार भर्चुअल मुद्रा भन्नाले क्रिप्टोग्राफी वा अन्य कुनै तरिकाले सिर्जना वा उत्पादन गरिएको विद्युतीय माध्यमबाट मूल्य दर्शाउने, व्यापारिक क्रियाकलापमा महत्व वा उपादेयता रहेको र मूल्य वा खाताको एकाइमा सञ्चित वा भण्डारण गर्न सकिने सूचना, कोड, सङ्केत नम्बर, टोकन, क्रिप्टोकरेन्सी वा यस्तै किसिमको सम्पत्ति हो ।
नेपालमा यस्तो सम्पत्तिको उत्पादन, बिक्री, कारोबार, सञ्चय वा स्थानान्तरण गर्न कानुनी रूपमा रोक लगाइएको छ ।


