
विराटनगर । मोरङको विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले प्रदेश स्तरीय गोष्ठीको उद्घाटन गर्नु भएको हो ।
सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुने बताउनु भयो । उहाँले भन्नुभयो– ‘निर्वाचन बिना देश थप अस्थिरतातर्फ धकेलिन सक्ने हुँदा सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन ।’
फाल्गुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको माहौल बनिसकेको अर्यालले बताउनु भयो । उहाँले भन्नुभयो– ‘निर्वाचन गराउन सरकार दृढ भएर लागेको छ ।’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की आसन्न निर्वाचन सम्पन्न गर्न अझै केही बाधा र अड्चन भएता पनि तोकिएको मितिमा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताउनु भयो । गोष्ठीमा कोशी प्रदेशका १४ वटा जिल्लाका सुरक्षा प्रमुखहरू र प्रमुख जिल्ला अधिकारीहरू सहभागी छन् ।
गोष्ठीमा जिल्ला सुरक्षा समितिका अधिकारीहरूले आ–आफ्ना जिल्लाको शान्ति सुरक्षाको अवस्था र निर्वाचनमा देखिन सक्ने सुरक्षा चुनौतीको विश्लेषण गरेर आवश्यक रणनीति तय गर्नेछन् ।


