
काठमाडौं । गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्यको जोखिम धेरै हुन्छ । तर स्वास्थ्य सेवामा शारीरिक पक्षलाई मात्र प्राथमिकता दिँदा मानसिक स्वास्थ्य अहिले पनि ओझेलमा पर्ने गरेको छ ।
सामाजिक दबाब, जानकारीको कमी, पारिवारिक असहयोग र आर्थिक समस्याका कारण गर्भवती तथा सुत्केरी अवस्थामा हुने तनाव, एन्जाइटी र डिप्रेसन जस्ता समस्या बढ्दै गएका छन् । यसको असर आमामात्र नभई बच्चा र समग्र परिवारमा पनि पर्न सक्ने भएकाले बेलैमा ख्याल गर्न विज्ञको सल्लाह छ ।
विज्ञका अनुसार गर्भावस्थामा एन्जाइटी र सुत्केरीपछि डिप्रेसनका समस्या धेरै देखिन्छन् । लामो समयसम्म निरन्तर तनावमा रहँदा आमा र बच्चाबीचको सम्बन्ध कमजोर हुने, बच्चाको विकासमा असर पर्ने र दाम्पत्य तथा पारिवारिक सम्बन्धमा समस्या देखिन सक्छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार विश्वभर १० प्रतिशत गर्भवती र १३ प्रतिशत सुत्केरी मानसिक समस्याबाट प्रभावित छन् । नेपालजस्ता विकासोन्मुख देशमा यो दर अझ बढी छ । परोपकार प्रसूति गृहमा गर्भवती तथा सुत्केरीका लागि मानसिक स्वास्थ्य ओपीडी सेवा शुरू गरिएको छ ।
डर लाग्ने, अत्यधिक चिन्ता, नकारात्मक सोच, निद्रामा समस्या, निराशा र थकान जस्ता लक्षण देखिएमा समयमै स्वास्थ्यकर्मीको सहयोग लिनुपर्ने डाक्टरको सुझाव छ ।
यो बेला श्रीमान् र परिवारको सहयोग पनि अत्यन्तै महत्त्वपूर्ण हुने लगनखेलमा रहेको मानसिक अस्पतालकी मानसिक रोग विशेषज्ञ डा. तृष्णा विष्टले बताउनुभयो । समयमै पहिचान र उपचार भएमा गर्भावस्था र सुत्केरी अवस्थाका मानसिक समस्याको रोकथाम, नियन्त्रण र उपचार गर्न सकिने विज्ञको भनाइ छ ।


