
झापा । चीनले भोलि अर्थात् जनवरी १ देखि ९३५ प्रकारका वस्तुमा आयात शुल्क घटाउने घोषणा गरेको छ । चीनको राज्य परिषद्को कस्टम्स ट्यारिफ कमिसनका अनुसार, यी वस्तुमा लागू हुने शुल्क दर सबैभन्दा अनुकूल राष्ट्रको भन्दा पनि कम हुनेछ ।
यसको उद्देश्य घरेलु र अन्तर्राष्ट्रिय बजारबीच समन्वय बढाउने, स्रोतहरूको उपयोग सुधार गर्ने र उच्च गुणस्तरका वस्तुको आपूर्ति विस्तार गर्ने रहेको सिन्ह्वाले जनाएको छ । चीनले केही महत्त्वपूर्ण वस्तु र उच्च प्रविधिका सामग्रीमा कर घटाएर उच्च स्तरको प्राविधिक आत्मनिर्भरतालाई समर्थन गर्ने जनाएको छ ।
त्यस्तै, केही प्राकृतिक स्रोतमा कर घटाएर हरित विकासलाई प्रवद्र्धन गर्ने चीनको योजना छ । स्वास्थ्य क्षेत्रमा घटाइने करले नागरिकको दैनिकीमा सुधार आउँने अपेक्षा छ ।
साथै, चीनले ट्यारिफ हेडिङ र राष्ट्रिय उप–हेडिङ नोटहरू सुधार्ने योजना बनाएको छ । स्मार्ट बायोनिक रोबोट र बायो–एभिएसन केरोसिन जस्ता नयाँ उत्पादनका लागि पनि उप–हेडिङ थपिनेछ ।
चीनले आफ्ना ३४ व्यापारिक साझेदार देशसँग सम्झौताअनुसार पूर्वनिर्धारित शुल्क दर जारी राख्नेछ । यसैगरी, ४३ अत्यन्त कम विकास भएका देशका लागि शतप्रतिशत शून्य शुल्क सुविधा पनि कायम रहने खबरमा उल्लेख छ ।


