२०८२ पौष १५ मङ्गलवार , ०५:५५:२९ बजे

Sajhamanch
'

भूमध्यसागरमा ठूला सेता शार्कहरू लोप हुने खतरामा : अनुसन्धानकर्ता

मङ्गलवार, पौष १५, २०८२

झापा । भूमध्यसागरमा ठूला सेता शार्कहरू लोप हुने खतरामा रहेका अनुसन्धानकर्ताहरूले बताएका छन् । अवैध माछा मार्ने कार्यले ठूलो सेता शार्कहरूको सङ्ख्या घट्दै गइरहेको अनुसन्धानकर्ताहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

बेलायती च्यारिटी ‘ब्लू मरीन फाउन्डेशन’ सँगको साझेदारीमा काम गर्ने अमेरिकी वैज्ञानिकहरूको अनुसन्धान अनुसार सबैभन्दा खतरामा परेका ठूला सेता शार्कहरू उत्तर अफ्रिकी माछा बजारहरूमा बेचिने गरेका छन् ।

ठूला सेता शार्कहरू अन्तर्राष्ट्रिय कानून अन्तर्गत संरक्षित २० भन्दा धेरै भूमध्यसागरीय शार्क प्रजातिमध्ये एक हुन् । यी प्रजातिहरू मार्न वा बेच्न गैरकानूनी छ । यद्दपि उत्तर अफ्रिकाको भूमध्यसागरीय तटमा माछा मार्ने बन्दरगाहहरूको अनुगमन गरेर अनुसन्धानकर्ताहरूले सन् २०२५ मा मात्र त्यहाँ कम्तीमा ४० वटा ठूला सेता शार्कहरू मारिएको पत्ता लगाएका खबरमा उल्लेख छ ।

बीबीसीले उत्तर अफ्रिकी बन्दरगाहहरूमा मृत अवस्थामा ल्याइएका संरक्षित शार्कहरूको फुटेज सामाजिक सञ्जालबाट पनि फेला पारेको छ र स्वतन्त्र रूपमा प्रमाणित गरेको छ ।

प्रमुख अनुसन्धानकर्ता, अमेरिकी विश्वविद्यालय भर्जिनिया टेकका डा. फ्रान्सेस्को फेरेट्टीले पछिल्ला दशकहरूमा भूमध्यसागरमा धेरै सार्कहरूको सङ्ख्या – विशेषगरी सेता शार्कहरूको सङ्ख्या नाटकीय रूपमा घटेको बताउनुभएको छ ।