२०८२ पौष १५ मङ्गलवार , १२:५०:१४ बजे

Sajhamanch
'

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन

मङ्गलवार, पौष १५, २०८२

झापा । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री एवम् बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि बिरामी उहाँको आज बिहान उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

एक महिनाभन्दा लामो अवधिदेखि अस्पताल भर्ना हुनुभएकी जियाको विगत २० दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो । केही वर्षयता उहाँ छातीको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखा सम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँको निधनको पुष्टि परिवार र पार्टीका नेताहरूले गरेका समाचार संस्था अलजजिराले जनाएको छ ।

सन् १९४५ मा जन्मिएकी उहाँ सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म गरी दुई पटक बङ्गलादेशको प्रधानमन्त्री बन्नुभएकी जिया पूर्व राष्ट्रपति जिया–उर–रहमानकी धर्मपत्नी हुनुहुन्थ्यो । उहाँ बङ्गलादेशको पहिलो महिला प्रधानमन्त्री हुनुभएको थियो ।

उहाँका जेठा छोरा तारिक रहमान बेलायतबाट हालै स्वदेश फर्किनुभएको छ । कान्छा छोरा अराफात रहमानको सन् २०१५ मा हृदयघातबाट निधन भएको थियो ।

जियाको निधनसँगै बङ्गलादेशले एक प्रभावशाली राजनीतिज्ञ गुमाएको भन्दै दुःख व्यक्त गरिएको छ । सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा जेल चलान गरिएकी जियालाई विदेशमा उपचार गर्न पनि अनुमति थिएन । उहाँ गएको वर्ष रिहा हुनुभएको थियो ।

सम्बन्धित खबर