२०८२ पौष १५ मङ्गलवार , १२:४२:५७ बजे

Sajhamanch
'

आज तमु ल्होसार : गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गरी मनाउँदै

मङ्गलवार, पौष १५, २०८२

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु ल्होसारलाई गुरुङ समुदायले भव्य रूपमा मनाउँदै आएका छन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । विशेषगरी गुरुङ समुदाय रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

यस अवसरमा काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेका छन् । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवम् सांस्कृतिक भेषभूषामा सजिएर सहभागी हुन्छन् ।

कार्यक्रममा गुरुङ समुदायको परिकार प्रदर्शनी गरिनेछ । यस अवसरमा अस्ति आइतवारदेखि काठमाडौंको टुँडिखेलमा ल्होसार महोत्त्सव शुरु भएको छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

सम्बन्धित खबर