
झापा । हमासको सशस्त्र शाखाले आफ्ना प्रवक्ता अबु ओबेदाको ज्यान गएको पुष्टि गरेको छ । एजेदिन अल–कसम ब्रिगेडले आफ्नो टेलिग्राम च्यानलमा भिडियो वक्तव्य जारी गर्दै महान कमान्डर र सैन्य शाखा (कासम ब्रिगेड) का प्रवक्ता अबु ओबेदाको अगस्टमा शाहदत भएको र उहाँप्रति श्रद्धा व्यक्त गर्दै शोकसन्तप्त सबैमा समवेदना व्यक्त गर्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
इजरायलले यसअघि अगस्ट ३० मा गाजामा भएको आक्रमणमा अबु ओबेदालाई मारेको घोषणा गरेको थियो । युद्धको समयमा ओबेदा भनिने हुदैफा समीर अल–काहलउट हमासको सैन्य शाखाका गाजा साथै अरब र अन्तर्राष्ट्रिय मिडियाले आधिकारिक धारणाका लागि उत्सुकतापूर्वक प्रतिक्षा गर्ने केन्द्रीय व्यक्तित्वको रूपमा चिनिनुभएको थियो । उहाँ इजरायल र हमासबीचको कैदी आदानप्रदानका लागि तोकिएका प्रमुख अधिकारी हुनुहुन्थ्यो ।
सन् १९८५ फेब्रुअरी ११ मा जन्मेका र उत्तरी गाजाको जबालिया शरणार्थी शिविरमा हुर्केका ओबेदा एजेदिन अल–कसम ब्रिगेडको सदस्य बन्नु अघि सानै उमेरमा हमास आन्दोलनमा सामेल हनुभएको थियो । ओबेदा उत्तेजक र प्रभावशाली भाषणहरूका लागि परिचित मानिनुहुन्थ्यो ।
अबु ओबेदाको ज्यान गएको घोषणा गर्ने भिडियो पूर्व प्रवक्ताको विशिष्ट शैलीमा लुगा लगाएका एक नकाबधारी व्यक्तिले दिएका थिए । उनले भविष्यमा प्रवक्ताको रूपमा आफूले काम गर्ने पनि बताएका छन् । भिडियोमा उनले युद्धका क्रममा इजरायली आक्रमणमा हमासका अन्य चार कमान्डरको ज्यान गएको पनि घोषणा गरेका छन् ।


