२०८२ पौष १४ सोमवार , ०९:२२:२७ बजे

Sajhamanch
'

झापाका दुई दर्जन बढी विद्यालयलाई फिफाको फुटबल हस्तान्तरण

सोमवार, पौष १४, २०८२
  • रोहित काफ्ले

भद्रपुर । नेपालमा ग्रासरुटस्तरको फुटबल खेललाई बढावा दिँदै सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यले फुटबलको सर्वोच्च संस्था फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)–लाई नेपालभरि वितरणका लागि उपलब्ध गराएको फुटबल झापामा वितरण गरिएको छ ।

आज झापाको भद्रपुरस्थित मेची रंगशाला परिसरमा आयोजित बृहत समारोहमा झापाका दुई दर्जनबढी विद्यालयलाई फिफाले उपलब्ध गराएको एडिडास ब्राण्डको फुटबल वितरण गरिएको हो । एन्फाले जारी गरेको सूचनाअनुसार आवेदन दिएका र छनोटमा परेका विद्यालयलाई आवश्यक संख्यामा फुटबल वितरण गरिएको बताइएको छ ।

झापा जिल्ला फुटबल संघका अध्यक्ष एवम् फुटबलका प्रशिक्षक भगिरथ आले मामाको अध्यक्षतामा आयोजित एक समारोहका बीच प्रमुख अतिथि एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङले सम्बन्धित विद्यालयका प्रतिनिधिलाई फुटबल हस्तान्तरण गर्नुभएको हो ।

झापा जिल्ला फुटबल संघका सदस्य गोपाल पोखरेलको सञ्चालन र उपाध्यक्ष मनिष दाहालले स्वागत गरेको समारोहमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’, दक्षिण एशियाली फुटबल महासंघका महासचिव पुरुषोत्तम कट्टेल, एन्फा उपाध्यक्ष दावा लामा, दिपक खतिवडा, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाललगायतले मन्तव्य व्यक्त गर्नुभयो ।

उहाँहरुले फिफाको यो सहयोगले नेपालको ग्रासरुट फुटबललाई महत्वपूर्ण सघाउ पुग्ने विश्वास व्यक्त गर्दै यो कार्यक्रम नेपालमा ल्याउन एन्फा र सो संस्थाका अध्यक्ष नेम्बाङले गरेको पहलप्रति मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
समारोहका अध्यक्ष आलेले फिफाको कार्यक्रम बारे प्रकाश पार्दै यो एउटा उत्कृष्ट अवसर प्राप्त भएको र यसलाई उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिनुभयो ।

फिफाले यस वर्ष विश्वका केही मुलुकमा फिफा फुटबल फर स्कूल कार्यक्रम सञ्चालन गरेको र सोही कार्यक्रमअन्तर्गत फुटबल वितरण भइरहेको आलेले जानकारी दिनुभयो ।

सम्बन्धित खबर