२०८२ पौष १४ सोमवार , ०५:००:२३ बजे

Sajhamanch
'

निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउनेहरूको चहलपहल

सोमवार, पौष १४, २०८२

काठमाडौं । समानुपातिकतर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगको केन्द्रीय कार्यालय परिसरमा दलहरूको उपस्थिति बाक्लिएको छ । विभिन्न राजनीतिक दलका प्रतिनिधि फाइल बोकेर निर्वाचन आयोगमा पुगेका छन् ।

आयोगका अनुसार नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले बन्दसूची बुझाइसकेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन हो ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायतका ठूला दलहरू पनि बन्दसूचीलाई अन्तिम रूप दिन लागिपरेका छन् ।

कांग्रेसले समानुपातिकमा सबै जिल्लाको प्रतिनिधित्व गराउने तयारी गरेको छ । २०६४ सालयता समानुपातिकतर्फ अवसर पाएकालाई यस पटक नदोहोर्‍याउने मापदण्ड तय गरेको छ । कांग्रेसले संस्थापन र इतर पक्षलाई ६०–४० भागबण्डाका आधारमा समानुपातिक उम्मेदवार छनोट गर्ने भएको छ ।

एमाले केन्द्रीय सचिवालय बैठकले समानुपातिक उम्मेदवारको सूची टुङ्ग्याउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । हिजोको सचिवालय बैठकमा प्रस्तावित नाममा छलफल भए पनि अन्तिम निर्णय गर्ने जिम्मा ओलीलाई दिइएको हो ।

नेकपाले यसअघि सांसद र मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचीमा नराख्ने गरि सूची तयार पारिरहेको बताएको छ ।

सम्बन्धित खबर