२०८२ पौष १० बिहिवार , ०२:३३:१६ बजे

Sajhamanch
'

एकै परिवारका तीन बालबालिकासहित महेन्द्ररत्न डोजोका १९ प्रशिक्षार्थीलाई ब्लाकबेल्ट प्रमाणपत्र प्रदान

बिहिवार, पौष १०, २०८२

बिर्तामोड । बिर्ताबजारस्थित श्री महेन्द्ररत्न माद्यमिक विद्यालयमा सञ्चालित कराँते प्रशिक्षणशालाले आज १९ जना प्रशिक्षार्थीहरुलाई ब्लाकबेल्टको प्रमाणपत्र प्रदान गरेको छ ।

बिर्तामोडमा १५ दिन पहिले आयोजित दिक्षान्त कार्यक्रमबाट ब्लाकबेल्ट ग्रहण गरेका ती प्रशिक्षार्थीहरुलाई महेन्द्र रत्न कराँते डोजोले प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

झापा ११ फुटबल क्लब तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा डोजोमा आयोजित संक्षिप्त कार्यक्रममार्फत प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

प्रमाणपत्र वितरण पछि सम्बोधन गर्नुहुँदै अध्यक्ष गुरुङले मार्शल आर्टस्का खेलाडीहरुले आत्मरक्षाका लागि सिकेको सीप र कलाको दुरुपयोग नगर्न सुझाव दिनुभयो ।

‘तपाईंहरुको सीपले विश्वमा नेपालको नाम राख्न सक्नुपर्छ, खेलाडीहरुको प्रतिभा सीमाहीन हुने भएकाले कराँतेका खेलाडीहरुको सफलता व्यक्तिगतमात्र नभई देशकै हुने’ उहाँको भनाई थियो ।

‘विगत लामो समयदेखि बिर्ताबजारमा दुर्गा गुरुले निरन्तर प्रशिक्षण दिएर तपाईंहरुलाई आज ब्लाकबेल्ट दिलाउनु भयो । अब तपाईंहरुले अझ ध्यान दिएर माथिल्लो ग्रेडमा उक्लने र अन्तर्राष्टिय स्पर्धा खेलेर नेपालको नाम राख्नोस्, मेरो शुभकामना छ,’ प्रमुख अतिथि गुरुङले हौसला दिनुभयो ।

सो कार्यक्रममा बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले खेलको नियम भनेको विकास, अनुशासन र गतिशिलता हो भन्ने सुझाउँदै कुलतमा फस्ने उमेर खेल जीवनमा बिताएर आफूलाई स्वास्थ राख्नु पर्ने बताउनु भयो ।

‘आज पनि बजारका कतिपय चोक र गल्लीहरुमा युवाहरु काम बिहीन भेटिन्छन्, यस्ता युवा गलत संगतमा परे भने कुलतमा फस्ने र दुर्ब्यसनी बन्ने खतरा हुन्छ । बरु यस्तो समय मार्शल आर्टका विभिन्न विधाहरु तथा अन्य शारीरिक स्फूर्ति दिने खेलहरु खेलेर जीवनलाई सार्थक बनाउन मेरो सुझाव छ’ वडाध्यक्ष मदन बुढाथोकीले भन्नुभयो ।

डोजो सञ्चालक राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गर्नुभएको सो संक्षिप्त कार्यक्रममार्फत महेन्द्ररत्न डोजोका प्रशिक्षार्थीहरु १९ जनाले आज ब्लाकबेल्टको प्रमाण पत्र लिएको जानकारी दिनुभयो ।

ब्लाकबेल्ट लिनेहरुमध्ये एकै परिवारका तीन बालबालिका छन् । सम्भवतः झापाकै पहिलो हुँदै मुस्लिम समुदायका दुई बालिकाहरु, जो जूम्ल्याहा पनि हुन्, कक्षा ५ मा अध्ययनरत उनीहरुले ब्लाकबेल्टको प्रमाणपत्र लिएका छन् ।

सामाजिक तथा राजनीतिक व्यक्ति अफ्रोज खान र रुआब्जा खान दम्पत्तीका ११ वर्षे छोरीहरु सनम खान र सेहर खानले परिवारको उपस्थितिमा कराँतेमा ब्लाकबेल्टको प्रमाणपत्र लिएका हुन् ।

सोही परिवारका अमिर खान पठान र नुरी खानका कक्षा ७ मा पढ्ने १३ वर्षका छोरा आतिफ खान पठानले पनि आजै ब्लाकबेल्टको प्रमाण पत्र लिए । एकै छानोमा बस्ने यी बालबालिकाले यति सानो उमेरमा कराँतेको ब्लाकबेल्ट पाउनु पनि उदाहरणीय रहेको बिर्तामोड ३ का वडाध्यक्ष बुढाथोकी बताउनु हुन्छ ।

सम्बन्धित खबर