२०८२ पौष ८ मङ्गलवार , ०५:२३:२८ बजे

Sajhamanch
'

डलरको भाउ बढ्दा सार्वजनिक ऋणको दायित्व पनि बढ्यो

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं । डलरको भाउ बढ्दा तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व पनि बढेको छ ।

चालू आर्थिक वर्षको शुरूमा सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा मङ्सिर मसान्तसम्ममा १ खर्ब १४ अर्ब ४८ करोड थप भइ २७ खर्ब ८८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५ दशमलव ६६ प्रतिशत हो । सार्वजनिक ऋणमा मङ्सिर मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३ दशमलव ३२ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ६८ प्रतिशत रहेको छ ।

गएको महिनाको तुलनामा अमेरिकी डलरको भाउमा भएको वृद्धिले नेपाली मुद्रामा तिर्न बाँकी ऋण दायित्व थप बढ्न गएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार चालू आर्थिक वर्ष २०८२/८३ मा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा मङ्सिर मसान्तसम्ममा १ खर्ब ७५ अर्ब १२ करोड रुपैयाँ ऋण प्राप्त भएको छ । वार्षिक लक्ष्यको तुलनामा सार्वजनिक ऋण प्राप्ति २९ दशमलव ४० प्रतिशत रहेको हो ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले विनिमय दर बढ्दा नेपालको सार्वजनिक ऋणको दायित्व व्यवस्थापनमा ठूलो असर पर्ने बताउनुभयो । उहाँका अनुसार डलरको भाउ चुलिदाँ बजेट बनाउँदा गरिएको अनुमानले समेत नथेग्ने अवस्था आउन सक्छ ।

सम्बन्धित खबर