
झापा । विश्वकै सबैभन्दा ठूलो ई–कमर्स कम्पनी अमेजनका एक शीर्ष कार्यकारीले उत्तर कोरियाली एजेन्टका संदिग्ध १ हजार ८०० भन्दा धेरै जागिरका आवेदन रोकेको बताउनुभएको छ ।
उत्तर कोरियालीहरूले चोरी वा नक्कली पहिचान प्रयोग गरेर टाढाबाट काम गर्ने आईटी जागिरहरूका लागि आवेदन दिन खोजेको अमेजनका प्रमुख सुरक्षा अधिकारी स्टीफन श्मिटले लिङ्क्डइन पोस्टमा बताउनुभएको छ ।
अमेरिका र दक्षिण कोरियाका अधिकारीहरूले उत्तर कोरियालीहरूले अनलाइन ठगी गर्नेबारे चेतावनी दिएका छन् ।
अमेजनका प्रमुख सुरक्षा अधिकारी श्मिटले गएको वर्ष उत्तर कोरियालीहरूले जागिरका लागि दिने आवेदनमा झन्डै एकतिहाइ वृद्धि भएको बताउनुभयो ।
गएको जुनमा अमेरिकी सरकारले उत्तर कोरियाली आईटी कामदारहरूले देशभर अवैध रूपमा सञ्चालित २९ वटा ‘ल्यापटप फार्म’ पत्ता लगाएको बताएको थियो ।
उनीहरूले उत्तर कोरियाली नागरिकहरूलाई अमेरिकामा जागिर पाउन मद्दत गर्न अमेरिकीहरूको चोरी वा नक्कली पहिचान प्रयोग गर्ने गरेका अमेरिकी न्याय विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
गएको जुलाईमा ३०० भन्दा धेरै अमेरिकी कम्पनीहरूमा उत्तर कोरियाली आईटी कामदारहरूलाई जागिर दिन ल्यापटप फार्म चलाएको आरोपमा एरिजोनकी एक महिलालाई आठ वर्षभन्दा धेरैको जेल सजाय सुनाइएको थियो ।


