२०८२ पौष ८ मङ्गलवार , ०३:४५:१७ बजे

Sajhamanch
'

सिन्धुलीमा पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या, सासु र नन्द पक्राउ

मङ्गलवार, पौष ८, २०८२

काभ्रे । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरेको आरोपमा सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

कमलामाई नगरपालिका–४ धुराबजार बस्ने ६२ वर्षीय दुर्गामान बम्जनको साढे दुई तले घरको भान्छा कोठामा पेट्रोल र मट्टितेल छर्केर आगो लगाउँदा उनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको हो ।

आगलागीमा परी दुर्गामानको दाहिने हात, दाहिने खुट्टा र ढाडमा जलेको छ । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलबाट पेट्रोल भरिएका दुई बोतल, जलेको अवस्थामा रहेको पेट्रोलको बोतल, लाइटर तथा बाँसको भाटामा सल बेरी बनाइएको राँको समेत फेला परेको सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताउनु भयो । मृतकको शव पोस्टमार्टमका लागि सिन्धुली अस्पतालमा छ ।

घटनास्थल शंकास्पद देखिएपछि प्रहरीले मृतककी ५० वर्षीया सासू मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामा (बम्जन) लाई पक्राउ गरेको छ । प्रारम्भिक सोधपुछ क्रममा मीना लामा (बम्जन) ले सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएको स्वीकार गरेको प्रहरीको दाबी छ ।

यता, मृतकका बुबा प्रेमबहादुर घिसिङ (हरिहरपुरगढी गाउँपालिका–४) ले मायारानी बम्जन र मीना लामा (बम्जन) विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । जाहेरीका आधारमा सोही दिन ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

‘प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आशंकामा मृतककी सासू र नन्दलाई पक्राउ गरिएको छ । पक्राउ परेका दुवै प्रतिवादीलाई जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेका छौं,’ एसपी सुवेदीले भन्नुभयो ।

अहिले स्थानीयले मृतकलाई न्याय दिनुपर्ने र अपराधीलाई कारबाही गर्नुपर्ने भन्दै नारा जुलुस गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको गेट अगाडि नाराबाजी भइरहेको छ ।

सम्बन्धित खबर