काठमाडौं । हुस्सु, कुहिरोका कारण केही दिनयता तराईको जनजीवन कष्टकर बन्दै गएको छ । दिउँसो अबेरसम्म घाम नलाग्ने र चिसो हावा चल्ने गर्दा घरबाहिर निस्कन पनि समस्या छ । घरभित्रै बस्दा पनि न्यानो कपडा नहुँदा विपन्न नागरिक बढी समस्यामा छन् ।
तापक्रम घट्ने, कुहिरो बढ्ने, बाक्लो हुस्सु लाग्ने र घरभित्रको धुँवाको सम्पर्क बढ्ने कारणले गर्दा धेरै प्रकारका रोग देखिन्छन् । दीर्घरोगीहरुलाई त समस्या थप बल्झिन्छ ।
चिसो बढ्न थालेसँगै तराई मधेशका बालबालिका, ज्येष्ठ नागरिक र विपन्न वर्गमा रुघाखोकी, फ्लू, निमोनिया, दम लगायतका श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्या बढ्न थालेको छ । कुहिरो, चिसो हावा र घर भित्रको धुँवाले यी रोगलाई झनै गम्भीर बनाउन सक्छ । यो बेला चिसोले मुटु तथा रक्तचापको समस्या बढ्ने हुन्छ । चिसोमा रक्तनली सङ्कुचित हुने, ह्दयाघात, मस्तिष्कघातको जोखिम पनि बढ्ने हुन्छ । योबेला ज्येष्ठ नागरिक, कुपोषित बालबालिका, गर्भवती र दीर्घरोगीहरु उच्च जोखिममा हुन्छन् । जाडो मौसममा छालासम्बन्धी समस्या पनि बढ्न सक्छ । छाला चिलाउने, सुख्खा हुने लगायतका छालाका रोगहरु पनि देखिन सक्छ ।
यस्तो बेला सबैभन्दा महत्त्वपूर्ण कुरा चिसोबाट बच्ने नै हो । खुट्टा र टाउकोबाट चिसो पस्ने भएकाले शरीर न्यानो बनाउने, तातो कपडा लगाउने गर्नुपर्छ । शरीर तातो बनाउने खानेकुरा खानुपर्छ । दाल, गेडागुडी, सुप, खिचडी, मुला, गाँजर, फर्सी, सागपात, फलफूल प्रशस्त खाने गर्नुपर्छ । यसले शरीरलाई पौष्टिक तत्व दिने गर्छ । जाडो छ भनेर कम पानी पिउनाले अन्य रोग पनि थपिन सक्छ । त्यसैले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । अदुवा, ज्वानोको झोल, जडीबुटी चिया तथा दुध बेसार मिसाएर पिउनाले पनि शरीरमा रोगसँँग लड्ने क्षमता बढाउन मद्दत गर्छ ।
कुहिरो लागेको बेला जोखिममा रहेका समूह वा व्यक्ति सकेसम्म बिहान बेलुका घर बाहिर निस्कनु हुँदैन । जाडोको बेला सरसफाईमा पनि ध्यान दिनु जरुरी छ ।
कतिपयले जाडो भगाउन भन्दै जाँडरक्सी पिउने गर्छन् । तर जाडोमा यसरी अत्यधिक रक्सी पिउनाले ज्यानै समेत जान्छ ।
जाडोमा छाला सुख्खा हुन्छ । यो समयमा शरीरलाई नरम बनाउनु जरुरी छ । धेरै तातोपानीले नुहाउन हुँदैन । मनतातो पानीले नुहाउने र लगत्तै शरीर नरम बनाउने क्रिम वा नरिवलको वा तोरीको तेल लगाउने गर्नुपर्छ । ज्येष्ठ नागरिक र बालबालिकालाई तातो घाममा राख्ने, तेल लगाइदिने गर्नुपर्छ । साथै पौष्टिक खाना र न्यानो कपडामा जोड दिनुपर्छ ।
नागरिकलाई चिसोबाट जोगाउन पालिका र वडाहरुको भूमिका महत्त्वपूर्ण हुन्छ । गरिब र पहुँच नभएका वर्गलाई दाल पौष्टिक खानेकुरा उपलब्ध गराउने, तातो कपडा कम्बलका लागि बिभिन्न गैरसरकारी सँस्थासँग समन्वय गरेर कपडा वितरण गर्ने, दाउरा बितरण गर्ने गर्नुपर्छ । तातो कपडा र खानपिनको बारेमा टोलटोलमा महिला स्वास्थ्यकर्मीको सहायतामा जनचेतना जगाउने काम पनि गर्नुपर्छ ।


