२०८२ पौष ७ सोमवार , ०७:१७:१० बजे

Sajhamanch
'

राष्ट्रिय सभा निर्वाचनको प्रदेशगत मतभार तयार : मधेशमा धेरै, कर्णालीमा कम

सोमवार, पौष ७, २०८२

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशगत मतभार तयार गरिएको छ ।

निर्वाचनमा प्रदेश सभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहन्छन् । कुन प्रदेशमा कति स्थानीय तह र प्रदेश जनप्रतिनिधि छन् त्यसआधारमा निर्वाचन आयोगले प्रदेशगत मतभार निर्धारण गरेको हो ।

प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख–उपप्रमुखको मतभार १९ रहेको छ ।

प्रदेशमा रहेका प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखको संख्यालाई आधार मानेर प्रदेशगत मतभार तयार पारेको हो । निर्वाचन आगामी माघ ११ गते हुँदैछ । त्यसका लागि मतभार तयार भएको हो ।

निर्वाचन आयोगले तयार पारेको विवरण अनुसार कोशी प्रदेशमा १० हजार १३५ मतभार छ । मधेश प्रदेशमा १० हजार ८३९, बागमती प्रदेशमा १० हजार ३५२, गण्डकी प्रदेशमा ६ हजार ४१० र लुम्बिनी प्रदेशमा ८ हजार ७५३ मतभार रहेको छ । कर्णाली प्रदेशमा ५ हजार १२२ र सुदुरपश्चिम प्रदेशमा ६ हजार १५३ मतभार रहेको छ ।

राष्ट्रिय सभा सदस्यको रिक्त १९ मध्ये १८ पदका लागि चुनाव हुँदैछ । मनोनीत सांसद वामदेव गौतमको ठाउँमा भने सरकारले अर्को व्यक्तिको नाम सिफारिस गर्नेछ । बाँकी १८ पदका लागि चुनाव हुनेछ ।

कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ । २०७६ फागुनमा निर्वाचित भएर आएका राष्ट्रिय सभा सदस्यहरू बिदा हुन लागेका हुन् ।

मतदानस्थल र केन्द्र पनि तोकियो

निर्वाचन आयोगले मतभारसँगै निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र पनि तोकेको छ ।

आयोगका अनुसार सातवटै प्रदेशको राजधानी रहेका जिल्लामा मतदानस्थल रहनेगरी स्थान तोकिएको छ । तोकिएका मतदानस्थलमा दुई/दुई वटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको छ । जसमा निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मण्डलले मतदान गर्ने व्यवस्था छ । मतदान केन्द्र ‘क’ प्रदेशसभाका सदस्यका लागि र मतदान केन्द्र ‘ख’ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि तोकिएको छ ।

कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका वडा ४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–४ मकवानपुर, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्कीमा प्रदेशको मतदान केन्द्र तोनिएको छ ।

आयोगले लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र, घोराही, दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी कैलालीमा तोकिएको छ ।