२०८२ पौष ७ सोमवार , ०५:०७:४२ बजे

Sajhamanch
'

सुनको मूल्य इतिहासमै पहिलो पटक ४४०० अमेरिकी डलर पुग्यो

सोमवार, पौष ७, २०८२

झापा । सुनको मूल्य इतिहासमै पहिलो पटक ४ हजार ४०० अमेरिकी डलर पुगेको छ । विश्वभर आर्थिक र राजनीतिक अनिश्चितताको कारणले गर्दा लगानीकर्ताहरूले आफ्नौ पैसा राख्न सुरक्षित ठाउँहरू खोजिरहेका बेला आज सुनको मूल्य प्रति औंस ४ हजार ४०० डलरको कीर्तिमानी उच्चतम विन्दुमा पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदीको मूल्य प्रति औंस ६९ दशमलव ४४ डलरको कीर्तिमानी विन्दुमा पुगेको हो ।

यो वर्षको शुरुआतमा प्रति औंस झन्डै २ हजार ६२४ रहेको सुन डिसेम्बरको अन्त्यसम्ममा ४ हजार ४०० डलरको कीर्तिमानी उच्चतम विन्दुमा पुगेको हो । यो वर्ष मात्रै सुनको मूल्य झन्डै ६८ प्रतिशतले बढेको छ ।

यस्तै चाँदी प्रति औंस २९ बाट बढेर ६९ डलर पुगेको छ । यो वर्ष चाँदी १ सय ३३ प्रतिशतले बढेको हो । सुन र चाँदीको भाउ सन् १९७९ पछिको सबैभन्दा ठूलो वार्षिक वृद्धि हो ।

परम्परागत रूपमा सुरक्षित सम्पत्तिका रूपमा हेरिएको सुनलाई बढेको भूराजनीतिक र व्यापारिक तनाव, अमेरिकी केन्द्रीय बैंकको अर्को वर्ष कम ब्याजदरको अपेक्षाले पनि सघाइरहेको खबरमा उल्लेख छ ।