
काठमाडौं । नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी तथा हिमाली क्षेत्रमा व्यापक रूपमा देखिने गलगाँडको समस्या पछिल्लो १० वर्षमा शून्यमा झरेको छ ।
सरकारले कण्ठरोग नियन्त्रण कार्यक्रम अन्तर्गत आयोडिनयुक्त नुनको देशव्यापी वितरण गरेपछि समस्या नियन्त्रणमा आएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन अनुसार आयोडिनयुक्त नुनको पहुँच झन्डै शत प्रतिशत पुगेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकतामा रहेको कार्यक्रम साल्ट ट्रेडिङ कर्पोरेशनको चुस्त आपूर्ति व्यवस्थापनका कारण सफल भएको राष्ट्रिय योजना आयोगको आन्तरिक मूल्याङ्कन प्रतिवेदन (२०७३) ले देखाएको छ । अहिले दुर्गम हिमाली तथा पहाडी २२ वटा जिल्लामा आयोडिनयुक्त नुनको सहज पहुँच सुनिश्चित गरिएको छ ।
आर्थिक वर्ष २०७०/७१ देखि अहिलेसम्म कार्यक्रमले शत प्रतिशत सफलता हासिल गरेको मन्त्रालयको भनाइ छ । स्वास्थ्य मन्त्रालयका अनुसार आयोडिनको कमीले हुने गलगाँड मात्र नभई हाइपरथाइराइडिज्म, मानसिक तथा शारीरिक विकाससम्बन्धी समस्या पनि उल्लेखनीय रूपमा घटेका छन् ।
पालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र विद्यालयहरूमा आयोडिनयुक्त नुनको प्रयोगबारे व्यापक सचेतना फैलिएको छ । ढिके नुनको प्रयोग लगभग अन्त्य भई भान्सा भान्सामा २ बालबालिका चिन्ह भएको आयोडिनयुक्त नुनको प्रयोग बढेको छ ।
सरकारले ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ’ भन्ने सन्देशसहित आयोडिनयुक्त नुन प्रयोग गर्न आग्रह गर्दै आएको छ । आयोडिन शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषक तत्व हो, जसले थाइराइड हर्मोन उत्पादन, दिमागको विकास तथा शारीरिक–मानसिक क्षमतामा महत्त्वपूर्ण भूमिका खेल्दछ ।


